गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक, यस्तो छ प्रारम्भिक मतपरिणाम

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रारम्भिक मतपरिणामअनुसार, ४ सय ५२ मत गणना गर्दा एमालेका सुहाङ नेम्वाङले १ सय ६८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम १ सय २, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ९३ र कांग्रेसका डम्बरबहादुर खड्काले ८९ मत पाएका छन् । 

२०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम- २ मा उपनिर्वाचन भएको हो । यसमा कुल १८ प्रतिस्पर्धी छन् । 

चुनावी मैदानमा एमालेबाट सुहाङ लिम्बू, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) बाट जीतकुमार राई छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशबहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, स्वतन्त्र उम्मेदवारका रूपमा अर्जुनबहादुर शाही, डकेन्द्रसिंह थेगिम लिम्बू, डाकप्रसाद बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज वश्याल उम्मेदवार छन् । 

१८ जना उम्मेदवार भए पनि मुख्यतः एमालेका सुहाङ, कांग्रेसका खड्का, रास्वपाका लिम्बू र स्वतन्त्र उम्मेदवार थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!