नवलपरासीमा अति संवेदनशील मतदान स्थल ७० वटा

Posted on: 22 Jun, 2017

असार ८, नवलपरासी | नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहअन्तर्गतका ७० वटा मतदानस्थललाई ‘अति संवेदनशील’ मा वर्गीकरण गरिएको छ । 

बढी जनशक्ति आवश्यक पर्ने भनिएका ती मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । 

कुल १२० वटा मतदानस्थलमध्ये २७ वटालाई संवेदनशील र २३ वटालाई सामान्य मतदानस्थल निर्धारण गरी सुरक्षा रणनीति अघि सारिएको हो । 

यसैगरी, सातवटा स्थानीय तहमा रहेका १२० मतदानस्थल र २४० वटा मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

त्यसैगरी, निर्वाचनका बेला हुन सक्ने निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि आन्तरिक रुपमा सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिनुभयो । 

पन्ध्रवटा स्थानीय तह रहेको नवलपरासीमा सात वटामा निर्वाचन हुन बाँकी छ जसमा तीनवटा नगरपालिका र चारवटा गाउँपालिका छन् । 

निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा करिब तीन हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । निर्वाचनका लागि आवश्यकताअनुसार नेपाली सेना ५००, सशस्त्र प्रहरी ५२०, नेपाल प्रहरी एक हजार १७६ र म्यादी प्रहरी एक हजार खटाइँदै छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!