माछा मर्ने क्रम नरोकिएपछि आँधीमूल मन्दिरमा क्षमापूजा

Posted on: 18 May, 2024

जेठ ५, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्ने क्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि क्षमापूजाको तयारी गरिएको हो ।

आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो । मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाजअनुसार बोका बलि दिइ क्षमापूजा गरिने उनले जानकारी दिए । यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा गर्ने निर्णय भएको थापाले बताए । 

उनले भने, “मन्दिर परिसरमा रहेका थुप्रै माछा धमाधम मर्न थालेका छन् । माछा मरेपछि स्थानीय चिन्तित छन् । सोमबार सबैको सहभागितामा क्षमापूजा गर्दैछौँ ।” क्षमापूजाका लागि सबै वडावासीलाई न्यूनतम तीन सय सहयोग गरी पूजा सम्पन्न गर्नका लागि आह्वान गरिएको वडाध्यक्ष प्रेम गुरुङले बताए । शुक्रबार बसेको सरोकारवालाको भेलाले तत्कालिन समस्याको समाधान गरी आगामी कार्ययोजना बनाउन संयोजन तथा सुझावका लागि पूर्ववडा अध्यक्ष किसान थापाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

माछा मर्नुको कारण ‘एसिड डेथ’

यहाँ रहेको पोखरीका माछा मर्नुको कारण ‘एसिड डेथ’ रहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले जनाएको छ । गत सोमबारदेखि पोखरीमा रहेका हजारौँ माछा धमाधम मर्न थालेपछि गरिएको परीक्षणअनुसार पानीमा धेरै मात्रामा ‘इकोली’ नामक जीवाणु फेला परेको प्रयोगशालाले पुष्टि गरेको छ । पोखराबाट शुक्रबार प्राप्त पोष्टमार्टम रिपोर्टअनुसार पानीमा धेरै मात्रामा ‘इकोली’ नामक जीवाणु रहेको र प्रारम्भिक ‘एसिड डेथ’ भएको उल्लेख गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा.सन्तोष देवकोटाले जानकारी दिए । 

उनले भने , “प्राविधिक टोली पुगी उक्त पोखरीको पानी, माछा र माछाका लागि खुवाइएको दानाको नमुना सङ्कलन गरेर पोखरा पठाइएको थियो । थप परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर र विषादी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइएको छ ।” माछा मरेपछि दुई वटा पोखरी खाली भएका छन् भने केही बचेका माछालाई मुख्य मूलमा सारिएको थियो । दुई वटा पोखरीमा रहेका माछालाई संरक्षणका लागि मुख्य पोखरीमा सारिएको भन्दै मुख्य पोखरीका माछा पनि मर्न थालेका आँधीमूल मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!