ललितपुरमा सुनचाँदीका गहना र नगद चोरी गर्ने समूह पक्राउ

Posted on: 18 May, 2024

जेठ ५, ललितपुर । ललितपुरमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । ललितपुर महानगरपालिका–१२ खोकना नवराज गुरुङको घरमा कोही पनि नभएको समयमा सुन–चाँदीका गरगहनाहरू तथा आईफोन लगायतका धनमाल चोरी भएको थियो ।

सो घटनामा संलग्न ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, यसबारे थप अनुसन्धान गर्दा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र कागेश्वरी मनोहरा –६ मुलपानीमा सुनचाँदी पसल सञ्चालन गरी बस्ने ४१ वर्षीय रमेश विक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन् ।

उनीहरूलाई फरक-फरक दिन फरक-फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरूलाई बरामद गरिएको सामानहरूसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!