प्रधानमन्त्री प्रचण्डको आशंका- बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ

Posted on: 01 Jan, 2024

पुस १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यो घटनामा बाहिर देखे जस्तो चिजभित्र नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डको भनाइः

अस्तिको घटनाको कसैले पूर्वानुमान गर्नसक्ने अवस्था थिएन । म त्यो दिन पूर्वनिर्धारित कार्यक्रममा दोलखामा थिएँ । आउँदाआउँदै थाहा पाएँ । केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु ।

यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन तर त्यसैले मैले घटनामा संलग्नलाई निलम्बन गरेर उच्चस्तरीय छानबिन गर्नुपर्छ भनेर समिति गठन गरेको छु । मृतकको परिवारलाई समेत बोलाएर गम्भीर समीक्षा गरिएको छ । गाडीभित्रै मन्त्रीलाई पनि जलाउनुपर्थ्यो छोडेछन् भन्ने भाष्य के भाष्य हो यो ?

आज मैले एउटा न्यूज हेरेर तीन वटाको टाउको शेरबहादुरजी केपीजी र मेरो । यी टाउको काटे २०÷२० लाख दिने प्रचार भइरहेको छ । के हो भाषा हो यो ? के संस्कार हो यो ? जनतालाई निराशा बाँड्ने, अँध्यारो देखाउने, अँध्यारोबाहेक केही छैन भन्ने भाष्य स्थापित गर्नेहरू राष्ट्रवादी हुन सक्दैन । जनतालाई आशा देखाउन सक्नुपर्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!