प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

Posted on: 23 Apr, 2022

वैशाख १०, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं संसद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धन बारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुमा छलफल भएको थियो । 

आजै परराष्टमन्त्री डा.नारायण खड्कासँग पनि उक्त प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका बेला दुवै पक्षले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए । दुवै पक्षबीच नेपाल–अमेरिका मैत्री दुई पक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका मुद्दाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ । 

आगामी सोमबार नेपाल र अमेरिकाबीच  कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । अमेरिकी सांसदको यो भ्रमणले दुई देशबीच संसदीय फाँटमा समेत आपसी सम्बन्ध सुमधुर तुल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!