दुर्गा प्रसाईं निकट युवाद्वारा दुई वटा बैंकमा तोडफोड

Posted on: 09 May, 2024

बैशाख २७, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् ।

ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुई वटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चार जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।


घटनामा संलग्न भएको अभियोगमा बुद्ध शान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङसहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्ने अन्य दुई जनाको नाम सार्वजनिक भएको छैन ।

प्रसाईँ नेतृत्वको ‘राष्ट,« राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोेध प्रदर्शन भएको थियो ।

गत वैशाख २५ गते बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता विरोधमा उत्रिएका हुन् । लगभग १ सय ५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले ज्योति विकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगा प्रहार गर्दा उक्त घरको १५, १६ वटा झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योति विकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!