एमसिसी: वैकल्पिक विधिबाट पारित गर्ने तयारी

Posted on: 27 Feb, 2022

फागुन १५, काठमाडौँ । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसिसीबारे व्याख्यात्मक टिप्पणीको ड्राफ्ट तयार पारिसकेको छ । सो विषयमा राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू छलफलमा जुटेका थिए । देउवासँगको सो विषयमा कुराकानीपछि शनिबार राति नै खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए । 

संसदमा एमसिसी पेस भएपछि निरन्तर दौडधुपमा रहेका सत्ता गठबन्धन दलकै नेताहरूको संवाद बिनानिष्कर्ष टुंगिदै आएको थियो । फागुन ८ मा एमसिसी संसद्मा पेस भएपछि सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस पक्षमा र वामपन्थी घटक विपक्षमा उभिंदा सरकारले प्रमुख प्रतिपक्षीको सहयोग खोज्नुपर्ने अवस्था आएको थियो। 

- आजको नागरिक दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!