बोल्न नदिएको भन्दै बालेनद्वारा मेयर फोरमको बैठक बहिस्कार

Posted on: 01 Nov, 2023

कार्तिक १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।  

मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न दिनुस् भनेर आग्रह गर्दा पनि बोल्न नपाएपछि उनी बैठक छाडेर बाहिरिएका हुन्।  

फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका थिए। उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थाको प्रस्तुतिको क्रममै मेयर बालेनले बोल्न खोजेको तर, बैठकको प्रक्रिया पुर्याएर मात्रै बोल्न भनेपछि उनी बैठकबाट बाहिरिएको ललितपुरका मेयर चिरिबाबुले बताए।


उनले भने, ‘हरेक बैठकको प्रक्रिया हुन्छ। त्यो अनुसार उपस्थित हुनुपर्छ। तर, मेयर बालेनलाई सुरुमै बोल्न हतार थियो। मैले पटकपटक प्रस्तुति पछि तपाईं बोल्नुहोला भन्दा पनि उनी रिसाएर बैठकबाट निस्केर गए।’

यता, मेयर बालेनका स्वकीय सचिव भुपदेव साहले नेप वेस्ट नामक संस्थासँग फोहोर व्यवस्थापनको विषयमा यसअघिको बैठकमा भएको सहमति विपरित फेरि विषयले प्रवेश पाएपछि मेयरसाहबले असन्तुष्टि जनाएको बताएका छन्।

उनका अनुसार सन् २००९ मा नेप वेस्टसँग काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसँग सम्बन्धी सम्झौता फिर्ता भएको यसअघिको बैठकमा निर्णय गरिएको थियो। तर, हिजोको बैठकमा पहिलो बुँदामै त्यो विषयले कसरी प्रवेश पायो भन्ने विषयमा सोध्नका लागि बारम्बार माइक माग्दा पनि नदिएपछि मेयर शाह बैठकबाट बाहिरिएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!