आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका फुटबलर अल-मुवालादको स्वास्थ्य अवस्था गम्भीर

Posted on: 16 Sep, 2024

भदौ ३१, काठमाडौँ । आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका साउदी अरेबियाका चर्चित फुटबल खेलाडी फहाद अल-मुवालादको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको बताइएको छ । ३० वर्षीय विंगरको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

गत बिहीबार उनी दुबईस्थित आफ्नै घरको बार्दलीबाट तल खसेका थिए । उनी दुई तलामाथिबाट खसेका थिए । उनी आफ्नो अपार्टमेन्टमा बिदा मनाउने क्रममा बार्दलीबाट खसेको स्थानीय प्रहरीले जनाएको छ ।


उनी अल-शबाबबाट साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । उनी साउदी अरेबियाको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । उनलाई तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

उक्त घटनाको विषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । फुटबलर फहाद अल-मुवालाद बिहीबार आफ्नो घरको दोस्रो तलाको बार्दलीबाट तल खसेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानको नतिजा पछि सार्वजनिक गरिने छ,' प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले सन् २०११ मा शीर्ष डिभिजनको साउदी लिगमा 'डेब्यू' गरेका थिए । सन् २०१८ मा उनले केही समयका लागि ऋणमा स्पेनिस ला लिगा क्लब लेभान्तेबाट पनि खेलेका थिए । उनी सन् २०२२ मा आफ्नो बाल्यकालको क्लब अल- इत्तिहाद छाडेर अल-शबाबमा आबद्ध भएका थिए ।

उनले सन् २०१२ मा साउदी अरेबियाको राष्ट्रिय टोलीमा 'डेब्यू' गरेका थिए । त्यसयता उनले साउदी अरेबियाको राष्ट्रिय टोलीबाट ७८ खेल खेलिसकेका छन् । अहिले सम्पूर्ण फुटबल जगतले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको छ । उनको पूर्वक्लब अल - इत्तिहादका समर्थकहरूले पनि आइतबार अल-बेहदासँगको खेलअघि उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!