दशैंमा घर फर्किने यात्रुबाट बढी भाडा असुल्ने ६ जना पक्राउ

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ | दशैंमा घर फर्किने यात्रुसँग जथाभावी भाडा असुल गर्ने ६ वटा सवारी साधनसहित त्यसका चालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ। 

पोखरा जाने दुई वटा माइक्रोबस तथा दमौली, लमजुङ र खैरेनी चल्ने सवारी साधनका चालकलाई नियन्त्रणमा राखिएको हो। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार पोखरा चल्ने ग१ख ४४९९ नम्बरको हायससहित आरुघाट गाउँपालिकाका डम्बरबहादुर आले मगर, सुन्दरबगर गाउँपालिकाका आयुष तामाङ, बा३ख ६१६५ नम्बरको हायससहित लिखु गाउँपालिकाका प्रकाश मगरलाई नियन्त्रणमा राखिएको छ। 

डम्बरबहादुर र आयुषले पोखराका लागि ७५० रुपैंया भाडादर रहे पनि डबल १५ सय असुल गरेका थिए भने प्रकाशले एक हजार रुपैंया लिएको प्रहरीले जनाएको छ। 

यसैगरी, दमौली चल्ने बा४ख११३ नम्बरको हायससहित मेग्दे गाउँपालिकाका राजु विक, बा२ख८२८७ नम्बरको लमजुङ चल्ने हायससहित भानु नगरपालिकाका मिलन बिकलाई पनि नियन्त्रणमा लिइएको छ। 

दमौलीका लागि ६५० रुपैंया भाडादर भए पनि एक हजार र लमजुङको ८ सय भाडा रहे पनि एक हजार असुल गरेको प्रहरीले पाएको छ। 

खैरेनीसम्मको भाडादर ६ सय रहे पनि एक हजार असुल गर्ने पालुङटार नगरपालिकाका दीपकबहादुर नेपालीलाई नियन्त्रणमा लिइएको छ। उनले बा५ख १०७६ नम्बरको हायस चलाउने गर्छन्। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!