काठमाडौं जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौं एक हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चोक, पश्चिममा धादिङ र नुवाकोट, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला पर्दछन् ।
यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाहरूसँग, पूर्वमा कात्तिके खोला, मनोहरा खोला र बागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग, पश्चिममा कोलफु खोला, नागार्जुन डाँडा, दहचोक, चन्द्रागिरी पहाड आदिले नुवाकोट, धादिङ र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेवटारका डाँडा, रातेमाटे खोलाले मकवानपुर जिल्लासँग छुट्याएको छ ।
जिल्लाको नामाकरण
काठमाडौंको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छविकालको पूर्वार्धतिरसम्म यस भूमिको नाम काठमाडौं रहेको थिएन भन्न सकिन्छ । त्यसताकासम्म नेपाल उपत्यका पशुपति क्षेत्र, मन्जुपतन आदि नाम रहेको अड्कल लगाइएको पाइन्छ ।
वि.सं. १०४३ तिर प्रसिद्ध लिच्छवी राजा गुणकामदेवले यस क्षेत्रमा यो सहर विकास गरेपछि यहाँको नाम काष्ठमण्डप रहन आएको हो ।
अर्को भनाई अनुसार वि.सं. १२०० तिर काठमाण्डौं शहरको दक्षिण पश्चिम भागमा एउटा ठूलो रुखवाट काठैकाठको सत्तल बनेको हुँदा काष्ठमण्डप भनिन थाल्यो । संस्कृत शब्द काष्ठमण्डपको नेपाली रूपान्तर काठमाडौं भएकोले पछि यस क्षेत्रलाई काठमाडौं भनिन थालियो तर मल्लकालमा यसलाई कान्तिपुर पनि भनिन्थ्यो ।
यसरी संक्षेपमा यो क्षेत्रको नाम विभिन्न समयमा विभिन्न रूपले बदलिँदै काठमाण्डौं हुन आएको हो भन्न सकिन्छ ।
इतिहास
कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो ।
नदी
यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा धेरै साना खोलाहरू बग्दछन् ।
वर्षा
मनसुन ऋतुमा बंगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ । शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ ।
तापक्रम
शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म ।
केही महत्वपूर्ण ठाउँहरू यस प्रकार छन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
स्वयम्भूनाथ मन्दिर
हनुमानढोका दरवार परिसर
श्री पशुपतिनाथको मन्दिर
कीर्तिपुर
बौध्दनाथ स्तुप
बुढानीलकण्ठ
सिंहदरबार
यस बिषयमा तपाइको प्रतिक्रिया...!