एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा ओलीको फलोअर्स दोब्बर हुन्छ : रामकुमारी झाँक्री

Posted on: 04 Sep, 2024

भदौ १९, काठमाडौं | प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा चलिरहेको ‘अनफलो’ अभियानबारे एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छिन्। उनले पार्टीका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्ष ओलीको फलोअर संख्या दोब्बर हुने बताएकी छन्। 

‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ उनले एक्समा लेखेकी छिन्, ‘सन्दर्भः अनफलोअर्स अभियान।’

मंगलबार साँझदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकहरूले ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन्। 

मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स भएकोमा अहिले त्यो संख्या घटेर ५ लाख ९१ हजारमा झरेको छ।

उक्त विषयमा टिप्पणी गर्दै झाँक्रीले एक्समै अर्को टिप्पणी पनि लेखेकी छन्। 

‘नेकपा (एकीकृत समाजवादी)का ताजा एक लाख ३२ हजार संगठित सदस्य छन्, खै त हामीलाई पनि सबैले फलो गरेका छैनन्,’ उनले भनेकी छन्।

मंगलबार मेयर बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अनियान चलाएका थिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!