ज्ञानेन्द्र शाहीको प्रश्नमा जवाफः ‘नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

Posted on: 25 Jun, 2024

असार ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा उनले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिएका हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान गएकाले सो मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पनि प्रधानमन्त्रीको छ ।


संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानबहादुर शाहीले रुसी सेनामा नेपालीहरु भर्ती भएको बारे चासो राख्दै ‘नेपालमा प्रधानमन्त्री छ कि छैन ?’ भनी प्रश्न राखेका थिए । सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा अहिले प्रचण्ड भन्ने मान्ने प्रधानमन्त्री रहेको बताए । उनले रुसी सेनामा भर्ती हुन सरकारले कुनै अनुमति नदिएको पनि बताए । सरकारले अनुमति नदिएको रुसमा गएर सेनामा नेपालीहरु भर्ती हुँदैगर्दा आफूले उद्धारका लागि विशेष चासो दिएको पनि प्रधानमन्त्री प्रचण्डले भने । उनले रातको १२ बजेसम्म रुसी सेनाको मोर्चामा रहेका नेपालीहरुसँग कुरा गरेको र उद्धारका लागि रायसमेत लिएको बताए ।

‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । त्यसो भएको हुनाले सरकारले पठाएर त रुसी सेनामा गएका होईनन् नेपाली नागरिक । जे भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद् कुरा हो । म अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु । राति १२ बजे रुसी सेनाको मोर्चामा भएका, लडाइको मोर्चामा भएका नेपालीसँग मैले कुरा गरेको छु ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरुलाई फिर्ता ल्याउनेबारे उनीहरुको रायसमेत लिएको छु । त्यस्तो प्रधानमन्त्री, कुनै दिन तपाईँ हुनुभएछ भने हेर्नुहोला तपाईँ कति गर्नुहुन्छ ? म पनि हेर्न चाहन्छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!