जब सुतिरहेको व्यक्तिको नाकभित्र साङ्ला छिरिपछि

Posted on: 08 Sep, 2024

भदौ २३, काठमाडौँ । चीनको हेनान राज्यका ५८ वर्षीय हाइकोउ नामका व्यक्तिको नाकमा साङ्ला छिरिदिएपछि आपत् आइलागेको छ । सुतिरहेको बेला नाकको प्वालबाट साङ्ला पसेको हाइकोउले पत्तै पाएनन् । साङ्ला नाकभित्र पसेका कारण निकै दिनसम्म नाकभित्र अत्यधिक दुखेपछि उनी डक्टरकहाँ गए ।

मेडिकल रिपोर्टका अनुसार हाइकोउले नाकबाट सास फेर्दा साससँगै साङ्ला नाकभित्र पसेको थियो । जब उनी ब्युँझिए, उनले नाकभित्र केही चिज घिस्रिरहेको महसुस गरे । घिस्रिरहेको त्यो चिज घाँटीतिर सर्दै गरेको पनि महसुस गरे । तर, यसवेलासम्म उनले आफ्नो नाकमा साङ्ला पसेको अनुमान गरेका थिएनन् ।


त्यस्तो गम्भीर समस्या होइन कि ठानेर हाइकोऊले बेवास्ता गरे । र आफ्नै दैनिक काम धन्दामा लागे । तर, दोस्रो दिनबाट उनको सास अत्यधिक गनाउन थाल्यो । तीन दिनसम्म पनि उनको सास गनाउने काम रोकिएन । साथै खोक्दा पहेँलो खाकर निस्कन थाल्यो । यसपछि भने उनी डक्टरकहाँ गए ।

हेनान अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञले नाकको परीक्षण गर्दा त्यस्तो असामान्य चिज केही फेला नपरेको रिपोर्ट निकाले । यद्यपि हाइकोउलाई भने पक्कै केही गडबड छ भन्ने लागिसकेको थियो ।

हाइकोउले आफ्नो नाकभित्र केही छ भनेर शंका गरेपछि उनलाई स्वासप्रश्वासको विशेषज्ञ डक्टर लीन लिंगकहाँ पठाइयो । त्यहाँ उनको छातीको सिटी स्क्यान गरियो । सिटी स्क्यानको रिपोर्टमा दायाँ फोक्सोको तल्लो भागको पछाडि केही कालो छायाजस्तो देखियो । जहाँ कुनै वस्तु अड्किएको जस्तो देखिन्थ्यो ।

डक्टर लीनले चिनियाँ अनलाइन सिहुवा डटकमलाई भनेका छन्, ‘मैले अप्रेसनका क्रममा पंखा भएको केही चिज देखेँ । त्यो वस्तु धेरै खकारहरुले बेरिएको थियो । विस्तारै वरिपरिको खाकरलाई हटाएपछि एक जीव देखियो । त्यो जीव साङ्लो थियो । अप्रेसनपछि विरामीले निकै आराम महसुस गरे । विरामीको खोकी र पहेँलो खकार बन्द भएको थियो । यद्यपि विरामीको सास भने गनाइरहेको थियो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!