इजरायल रोजगारको लागि चिट्ठा प्रणालीबाट २२ सय नेपाली छानिए

Posted on: 29 Aug, 2024

भदौ १३, काठमाडौँ ।  इजरायल रोजगारका लागि २२ सय नेपाली छनौट सूचीमा परेका छन् । इजरायलको पीवाले चिट्ठा प्रणालीबाट २२ सय नेपालीको सूची तय गरेको हो ।

इजरायलको राजधानी जेरुसेलममा आयोजित एक कार्यक्रममा चिट्ठा प्रणालीबाट ११९६ महिला र १००६ पुरुष कामदार छनौट भएका छन् । इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभागमा आयोजित कार्यक्रममा चिट्ठा प्रणालीबाट २२ सय कामदारको सूची तय गरिएको नेपालस्थित इजरायली दूतावासले जानकारी दिएको छ।


गत अक्टोबर ७ मा हमासले सुरु गरेको आक्रमणपछि इजरायल र प्यालेस्टाइनहरुबीचको द्वन्द्व अझै जारी छ। हमास आक्रमणपछि नेपाल सरकारले इजरायलबाट नेपाली कामदार फिर्ता पनि ल्याएको थियो भने ठूलो संख्यामा नेपाली कामदार अझै इजरायलका विभिन्न सहरमा काम गरिरहेका छन्।

काठमाडौँस्थित इजरायली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मी र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसमेतको उपस्थितिमा जेरुसेलममा आयोजित कार्यक्रमको लाइभ टेलिकास्ट गरिएको थियो।

इजराइल केयरगिभरमा जानका लागि चार हजार २४ जना (दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला) ले आवेदन दिएका थिए । आवेदन दिएकाबाट तीन हजार ४६१ जना (एक हजार ८६३ पुरूष र एक हजार ५९८ महिला) विभागले स्वीकृत गरेको थियो ।

छानिएका नेपाली कामदारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्नेछ । दुवै देशका सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।

केयर गिभरमा जानेलाई बस्ने सुविधा भए पनि लागत आफैँ तिर्नुपर्ने र खाने खर्चसमेत कामदारले नै व्यहोर्नुपर्ने बताइएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!