माइती जान हिँडेकी महिलालाई अटो चालकले अर्को बाटो लैजान खोज्दा गयाे ज्यान

Posted on: 02 Aug, 2024

साउन १८, कैलाली । कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको चल्दै गरेको अटो रिक्साबाट हाम फाल्दा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

बुधबार मोहना पुल–अत्तरिया ६ लेन सडक खण्डमा मृत भेटिएकी महिलाबारे प्रहरीले दुई दिनसम्म छानबिन गरेको थियो । उनी धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ ।

‘झोलामा भेटिएको पासपोर्ट साइजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम पदमबहादुर विष्टले भने, ‘अनुसन्धान गर्दै जाँदा माइती जान हिँडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्री बाटोमा लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।’


प्रहरीका अनुसार धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान साँझ उनले करिब ५बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् ।

मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए ।

सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन् । उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका थिए ।

‘घटनाको केही समयपछि उनको उद्धार गरिएको थियो तर, टाउकोमा चोट लागेका कारण उनको मृत्यु भयो ’ प्रहरी उपरीक्षक विष्टले भने, ‘अटो चालक र अटोमा सवारलाई पक्राउ गरेका छौँ । थप अनुसन्धान हुँदै छ ।’

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती महिलाले अटोबाट हाम फालेपछि फसिने डरले भागेको बयान उनीहरूले दिएको प्रहरीले जनाएको छ । अहिले पनि महिलाको शव आफन्तले बुझेका छैनन् । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!