कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on: 25 Apr, 2021

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

गत आवमा अन्तिम चौमासिक र चालू आवको पहिलो चौमासिकसम्म सरकार र वैदेशिक लगानी गरी दुवै किसिमका निर्माणमा अवरोध पुगेको विभागका उपमहानिर्देशक शिव नेपालले बताउनुभयो । 

प्रवक्तासमेत रहनुभएका उहाँका अनुसार सङ्क्रमितको सङ्ख्या कम भइरहँदा निर्माणले गति लिन थालेको थियो । अहिले विभिन्न जिल्लामा बन्दाबन्दी शुरु भइसकेकाले निर्माणमा पुनःबाधा पुग्न थालेको उहाँले बताउनुभयो । बन्दाबन्दी लागू भएका जिल्लासँगै त्यस आसपासका जिल्लामा समेत बाधा पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यही जिल्ला भएर अर्काे जिल्लामा जानुपर्ने भएमा बन्दाबन्दी भएका सँगै नभएका जिल्लामा पनि निर्माण रोकिन्छ ।”

चालू आवमा दोस्रो चौमासिकसम्म आर्थिक प्रगति ३५ प्रतिशत पुगेको विभागले जनाएको छ । एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिइएकामा अहिलेसम्म ५५० किमी सडक सम्पन्न भएको छ । तीन सय पुल निर्माण गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म १२९ पुल सम्पन्न भएको विभागले जनाएको छ । 

पहिलो चौमासिकमा देशभर सङ्क्रमितको सङ्ख्या उच्च भएकाले कुनै पनि ठाउँमा नयाँ मान्छे गएर काम गर्ने वातावरण नभएको उहाँले बताउनुभयो । कुनै पनि ठाउँमा निर्माण व्यवसायीले कामदारलाई छुट्टै ‘क्याम्प’ बनाएर राख्दा काम गर्न केही सजिलो भए पनि अरुको घरमा बसेर काम गर्ने अवस्था थिएन । कामदारलाई भाडामा बस्नै नदिएका कारण काममा बाधा पुगेको थियो । उहाँले भन्नुभयो, “कामदार पानी भर्न धारामा वा अरु कामका लागि जाँदा स्थानीयले विरोध गर्ने अवस्था हुँदा दशैँ पहिले खासै काम हुन सकेको थिएन ।”

पहिलो चौमासिकमा धेरै र दोस्रो चौमासिकमा थोरै असर पुगेकाले अहिले सामान्य अवस्थामा जसरी काम गर्ने वातावरण नै हुँदा पनि लक्ष्य भेट्न गाह्रो भएको प्रवक्ता नेपालले बताउनुभयो । अन्तिम चौमासिकमा तुलनात्मकरुपमा बढी काम हुने भए पनि यो आवमा त्यो नहुने देखिएको छ । 

स्रोत व्यवस्थापनको पनि समस्या केही हदसम्म रहेको विभागले जनाएको छ । अहिले पनि निर्माण सम्पन्न भएका कतिपय योजनामा सरकारले भुक्तानी दिन बाँकी छ । अहिलेसम्म ३५ प्रतिशत खर्च भइसकेको छ । झट्ट हेर्दा ६५ प्रतिशत रकम बाँकी छ भन्ने देखिएको भए पनि वैदेशिक सहायताको आयोजनामा रकमान्तर नहुने प्रवक्ता नेपालले बताउनुभयो । 

विभागअन्तर्गतका योजनामा झण्डै ५० प्रतिशत वैदेशिक सहयोगका योजना रहेका छन् । अनुदान वा ऋण सहयोगमा निर्माण हुने कुनै पनि आयोजनामा सम्बन्धित आयोजनाको रकम अन्यत्र लैजान सकिँदैन । उहाँले भन्नुभयो, “त्यो आवमा गर्न सकेमा काम हुने र नभएमा फ्रिज हुने गरेको छ ।”

सरकारको आन्तरिक स्रोतबाट निर्माण भइरहेका योजनामा भने कुनै एउटा योजनामा काम नै हुन नसक्ने अवस्थामा त्यो रकम अर्को योजनामा खर्च गर्न सकिने व्यवस्था छ । रकमान्तर गर्न सकिने व्यवस्था भए पनि आवको अन्तिमसम्ममा काम भइहाल्छ कि भन्ने आशा भएकाले सकेसम्म छुट्याइएको रकम सम्बन्धित योजनामा नै खर्च गरिने उहाँको भनाइ छ । 

विभागले पटकपटक तोकता गरेर पनि व्यवसायीलाई काम गराउँदै आएको छ । उहाँले भन्नुभयो, “कतिपय व्यवसायी पनि अन्तिम चौमासिकमा काम नभएर अर्काे आव पुग्दा भुक्तानी ढिला हुने भएकाले अन्तिम चौमासिकमा काम बढी हुने गरेको छ ।” 

कतिपय योजना विगतमा सङ्घबाट प्रदेशमा हस्तान्तरण भएका थिए । प्रदेशमा हस्तान्तरण भएका योजनामा सङ्घ र प्रदेश दुवैबाट भुक्तानी नभएको प्रवक्ता नेपालले बताउनुभयो । कतिपय योजनामा भने वैदेशिक स्रोत र सरकारको पनि स्रोत भएकाले पनि केही समस्या आएको उहाँको भनाइ छ ।  

वैदेशिक लगानीका सडक योजनामा चालू आवमा काम अपेक्षा गरिएअनुसार अघि बढ्न सकिरहेको छैन । गत वर्ष पहिलो पटक कोभिड सङ्क्रमित भेटिए यता कतिपय योजनामा निर्माण अझै शुरु हुन नसकेको प्रवक्ता नेपालले बताउनुभयो । कतिपय योजनामा काम शुरु भए पनि गति लिन सकेको छैन । 

चिनियाँ सहयोगमा निर्माण शुरु गर्ने भनिएको स्याफ्रुबेंसी रसुवागढी सडकको निर्माण र चक्रपथ दोस्रो खण्डको बिस्तार अझै शुरु हुन सकेको छैन । बुटवाल–नारायणगढ सडक बिस्तार लामो समयसम्म अवरुद्ध बनेकामा अहिले काम अघि बढाइएको छ । उहाँले भन्नुभयो, “अहिले पनि ढुक्क भएर काम अघि बढ्छ भन्ने अवस्था छैन ।”

कोभिडका कारण अहिले पनि विदेशी नेपाल आएर काम गर्ने वातावरण नबनेको प्रवक्ता नेपालले बताउनुभयो । उहाँका अनुसार अरु किसिमका काम अनलाइन गर्न सकिने भए पनि इञ्जनीयरिङको काम अनलाइन गरेर हुँदैन । निर्माणस्थलमा नै गएर गर्ने काममा स्थानीयवासीको अवरोधका कारणले वा प्रशासनले कडाइ गर्दा काम गर्न कठिन भइरहेको छ । चालू आवमा वैदेशिक लगानीका योजनामा धेरै असर गरेको उहाँले बताउनुभयो । 

पहिलो चौमासिकसम्म नेपालमा नियमित हवाई उडान थिएन । दोस्रो चौमासिकमा नियमित सेवा शुरु भए पनि सम्बन्धित व्यक्ति सजिलो आउने र जाने अवस्था नभएको उहाँको भनाइ छ । कुनै एउटा देशमा सङ्क्रमित कम भएर बन्दाबन्दी खुकुलो गरिरहँदा अर्को देशमा बढी भएमा कडाइ गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरै मानिस मानसिकरुपमा निर्माणस्थल पुगेर काम गर्न नचाहेको पनि हुनसक्छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!