नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

Posted on: 14 Mar, 2024

चैत १, कैलाली | डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो ।

 प्रहरीका अनुसार, बिहीबार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ ।


नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकिय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।  

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख पनि माओवादी केन्द्रबाटै विजयी भएकी हुन् । 

नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!