क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै सीआईबीमा प्रियंका कार्कीको उजुरी

Posted on: 20 Mar, 2022

चैत ६, काठमाडौँ ।  क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् ।

सामाजिक सञ्जालमा तस्बिरसहित विज्ञापन देखिएपछि व्युरोले अभिनेत्री कार्कीलाई सोधपुछका लागि सम्पर्क गरेको थियो। क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर दुरुपयोग गरेको भन्दै आफू प्रहरी कहाँ पुगेको प्रियंकाको दाबी छ। आफूले क्रिप्टोकरेन्सीबारे कुनै पनि अभिव्यक्ति नदिएको उनको भनाइ छ।

‘क्रिप्टोकरेन्सीसँग सम्बन्धित कोही मान्छेले मेरो फोटो हालेर डिजिटल एप बनाएछ। क्रिप्टोकरेन्सीमा इन्भेस्टमेन्ट गर्नुस् भनेर मेरो फोटो राखेर बनाएको रहेछ,’ उनले भनिन्, ‘त्यो मेरो नजरमा आइसकेपछि मैले बरु सिआइबीसँग मिलेर कहाँबाट आएको, कसले पोस्ट गरेको भनेर अनुसन्धानमा सघाउन लागेको हुँ।‘

उनले आफ्नो तस्बिर दुरुपयोग गरेर आफू पीडित भएको बताइन्। ‘मैले प्रहरीलाई स्टेटमेन्ट लेखेर दिएको छु। क्रिप्टोकरेन्सीमा मेरो फोटो मिसयुज गरियो। क्रिप्टोकरेन्सीमा मैले इन्भेस्ट गरेको छैन। मेरो नाम गलत तरिकाले कसरी जोडियो? यो कहाँबाट, कसले, किन गरिरहेको छ? मैले व्युरोसँग सहयोग मागेकी हुँ,’ उनले भनिन्।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रियंकाले क्रिप्टोकरेन्सीलाई प्रमोसन गर्ने हिसाबमा सामाजिक सञ्जालमा प्रयोग भएको एक तस्वीर पोस्ट भएपछि उनीसँग सोधपुछ गरिएको बताए ।

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!