के भारतीय टीभी अभिनेत्री रिद्धिमा पण्डितले शुभमन गिलसँग बिहे गर्न लागेकी हुन् ?

Posted on: 19 Jul, 2024

साउन ४, काठमाडौँ । भारतीय टीभी अभिनेत्री रिद्धिमा पण्डित यतिबेला आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् । उनको नाम क्रिकेटर शुभमन गिलसँग जोडिएको छ ।

मिडिया रिपोर्टमा यो दाबी गरिएको छ, ‘अभिनेत्रीले आफूभन्दा ९ वर्ष कान्छा शुभमन गिलसँग सन् २०२४ को डिसेम्बरमा विवाह गर्न लागेकी छिन् ।’

सो सम्बन्धमा रिद्धिमाले अब एक अन्तर्वार्तामा यी रिपोर्टहरूबारे स्पष्टीकरण दिएकी छिन् । उनले शुभमनलाई क्यूट पनि भनेकी छन् ।


फिल्मी ज्ञानलाई दिएको अन्तर्वार्तामा रिद्धिमाले भनिन्, ‘पहिलो कुरा त म शुभमनलाई चिन्दिनँ । उहाँ एक महान् खेलाडी हुनुहुन्छ तर, म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ । जब म उहाँलाई भेट्छु म पक्का छु कि हामी यसबारे कुरा गरेर हाँस्नेछौं । उहाँ धेरै प्यारो हुनुहुन्छ तर, अहिले त्यस्तो केही छैन ।’

केही महिनाअघि पनि रिद्धिमाले सामाजिक सञ्जालमा शुभमनसँगको विवाहको खबरलाई अस्वीकार गरेकी थिइन् ।

पोस्ट सेयर गर्दै उनले भनेकी थिइन्, ‘मेरो बिहानी धेरै पत्रकारको फोनबाट सुरू भयो । सबैजना मेरो आगामी विवाह बारे जान्न चाहन्थे । तर, कुन बिहे ? को संग ?’

‘यदि मेरो जिवनमा यस्तै केहि भैरहेको छ भने । यदि म विवाहको बारेमा सोच्दै छु भने, म व्यक्तिगत रूपमा घोषणा गर्नेछु । अहिले यो समाचारमा कुनै सत्यता छैन ।’ उनी भन्छिन् ।

रिद्धिमा पण्डित ‘बहु हमारी रजनीकान्त’ र ‘खतर खतर’ जस्ता टेलिभिजन शोमा देखिएकी थिइन् । छिट्टै उनी चर्चित टिभी शो ‘नागिन’ को सातौं सिजनबाट कमब्याक गर्दैछिन् ।

यस शोमा रिद्धिमाको चरित्र श्रीदेवीको फिल्म नगिनाबाट प्रेरित हुने बताइएको छ । रिद्धिमा भन्दा पहिले शुभमनको नाम सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर र सारा अली खानसँग पनि जोडिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!