वैदेशिक रोजगार: 'लकडाउन' अघि आएको मागपत्र कार्यान्वयन गर्न छ महिनाको म्याद थप

Posted on: 05 Jan, 2022

पुस २१, काठमाडौँ | सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ ।

कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी छ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनअघि प्राप्त भएका ३० हजारभन्दा बढी मागपत्र कार्यान्वयन हुनेछ । वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेदेखि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो । अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भई आएकाले पहिले नै प्राप्त भएका माग पत्रअनुरुप श्रमिक पठाउन छ महिनाको म्याद थप गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!