श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार क्षेत्र सुधारको प्रयास: मन्त्रालयमा चार पक्षीय छलफल सम्पन्न

Posted on: 08 May, 2024

वैशाख २६, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा भएका कयौं बेथिति र अवैध क्रियाकलाप समाधान गर्ने उदेश्यले मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीहरु, अभिमुखीकरण तालिम प्रदायक व्यवसयीहरु र मेडिकल व्यवसायीहरुसंग चारपक्षीय छलफल गरेको छ । 


मन्त्रालयमा आयोजित उक्त विशेष छलफल कार्यक्रममा श्रममन्त्री डीपी अर्यालले वैदेशिक रोजगार क्षेत्रको बिबिध पक्षमा सुधार गर्न आफूले धेरै काम गर्न लागेको भन्दै सम्बन्धित पक्षबाट पनि सुझाव सहितको छलफल गरेका हुन् । छलफल कार्यक्रममा श्रममन्त्री अर्यालले व्यवसायीहरुले आ-आफ्नो पक्षमा भएको बेथिति र श्रमिकलाई भार पर्ने गरि भएका बिबिध अबैध क्रियाकलापहरु व्यवसायीहरु आफैले सुरु गरेको र अब आफैले क्रमश सुधार गर्न आग्रह गरेका छन् । छलफलमा व्यवसायीलाई जोड्दै मन्त्री अर्यालले यो क्षेत्र सुधारको लागि मन्त्रालयले क्रमश: रचनात्मक काम गरिरहेको संकेत समेत दिएका छन् । 

मन्त्री अर्यालसँगको बसाईको क्रममा तीनै पक्षका व्यवसायीहरुले आ-आफ्नो क्षेत्रको समस्या र समाधानको उपायहरुबारे मन्त्री अर्याललाई सुझावहरु दिएका छन् । साथै व्यवसायीहरुले वैदेशिक रोजगार क्षेत्रभित्र भएका कयौं समस्यामा बिचौलियाहरुको प्रभाव र कमिसनको खेल भईरहेको विषयलाई स्वीकार्दै आफ्नो क्षेत्र सुधार्न एजेन्टहरुको बिगबिगी अन्त्य गर्नुपर्ने बताएका छन् । 

छलफल कार्यक्रममा वैदेशिक रोजगार अभिमुखिकरण तालिमको पाठ्यक्रम परिमार्जन, सेवा-सुविधा, मापदण्ड र गुणस्तर लगायात बिबिध बिषयमा सुधार आवश्यक रहेको विषय उठान गरिएको छ । छलफलकै क्रममा अभिमुखिकरण तालिम प्रदायक व्यवसायीहरुकै सक्रियतामा कमिसन, सेटिङ, मनपरी र सिन्डिकेट लगाइएको विषयको आलोचना भएको छ । 

त्यस्तै छलफल कार्यक्रममा उपस्थित मेडिकल व्यवसायीहरुले वैदेशिक रोजगार क्षेत्रसँग जोडिएका मेडिकल संस्थाहरुमा ठूलो समस्या रहेको भन्दै समाधानको उपाय सहित बिबिध सुझावहरु दिएका छन् । व्यवसायीहरुले हुम्लामा रहेको व्यक्तिको मेडिकल काठमाडौँमा भईरहेको भन्दै अब मेडिकलमा पनि आइरिस सिस्टम जोड्न पर्ने र रिपोर्ट व्यवस्थापनको लागि सफ्टवेयरको प्रयोग गर्न अनुरोध गरे । यो क्षेत्र व्यवस्थित गर्न सके चिया पसलमा पनि मेडिकल गरिन्छ भन्दै भईरहेको बेथितिको आफै अन्त्य हुने व्यवसायीहरुले दावी गरे । 

त्यस्तै छलफल कार्यक्रममा म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारमा जान लागत बढिरहेको सम्बन्धमा सरकारले तत्काल मागपत्र प्रमाणीकरणको व्यवस्थापन र म्यानपावरले लिने सेवा-सुविधा तोकेर त्यसको व्यवहारिक व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

हेर्नुहोस् पुरा रिपोर्ट: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!