वैदेशिक रोजगारमा पठाउने भन्दै युवाहरुबाट लाखौँ ठग्ने रोकाय पक्राउ परेनन्

Posted on: 11 Jul, 2021

असार २७, काठमाडौँ | तीन बर्ष अघि लमजुङका खेम गुरुङ भारतको नयाँ दिल्ली जाँदै थिए, सँगै गाडीमा भेटिए सुर्खेत भेरिगंगा-४ स्थाई घर भएका कर्ण बहादुर रोकाया । चिनजानकै क्रममा रोकायाले आफूले वैदेशिक रोजगारमा पठाउने गरेको भन्दै सोहि कामको लागि दिल्ली जान लागेको बताए । त्यसै क्रममा पिडित गुरुङ ठगि गिरोहमा सक्रिय कर्ण बहादुर रोकायाको पन्जामा परे । 


सुरुवातमा रोकायाले स्पेन सजिलै पठाउन सक्ने प्रलोभन देखाएका थिए । उनकै प्रभावमा परेर लमजुङका गुरुङ मात्र नभई नुवाकोटका गोविन्दराज रिजाल सहित अरु ४ जना युवाहरु पनि रोकायाको जालमा परे । सुरुमा प्रक्रियाको लागि भन्दै ठगीमा सक्रिय रोकायाले ५०/५० हजार मागे । पिडितहरुले प्रमाण सहित भएकोले ठगि नहुने बुझेर पैसा बुझाए । यस क्रममा रोकायाले पीडितहरुलाई पटक-पटक भारत लगेर १ महिना, २ महिनासम्म राख्ने गरे । पिडितहरुलाई सबै काम भईसकेको भन्दै फेक कागजात दिएर एयरपोर्ट सेटिङ गर्नुपर्छ भन्दै महिनौं भारतमा राख्ने गरेको पीडितहरुले बताएका छन् । 

रोजगारीकै आशामा सुरुमा एक महिनासम्म भारतमा बसेका पिडितहरु भारतमा छँदा खाने/बस्ने खर्च समेत आफैले तिरेको बताउँछन् । सुरुवातमा स्पेन लैजाने भनेपनि रोकायाले पटक-पटक कुरा फेर्दै कहिले साइप्रस, कहिले जापान त कहिले पोर्चुगल भन्न थाले । झन्डै डेढबर्षको अन्तरालमा रोकायाले वैदेशिक रोजगारमा पठाउछु भनेर पीडितहरुसँग प्रतिव्यक्ति ८ लाख देखि ९ लाख लिन भ्याईसकेका थिए । सुरुमा ५० हजार दिँदा प्रमाण भएको कारण ठगि होला भन्ने नलागेको पिडितहरुको भनाई छ । त्यसपछि पटक-पटक गरेर प्रतिव्यक्ति ८ देखि ९ लाख बुझाएको पिडितहरुको भनाई छ । ठगिएका पिडितहरुमध्ये एक जनासँग भने ५ लाख बुझाएको भौचर छ । बाँकीसँग ५० हजार बुझाएको प्रमाण मात्र छ । पिडितहरु मध्ये एक आलेश गुरुङले आफूसँग पैसा दिएको रसिद भएपनि वैदेशिक रोजगार नखुलेको कारण उजुरी दिन नसकेको गुनाशो गरे । पिडित मध्ये अर्का गोविन्दराज रिजालसँग ठगिमा संलग्न रोकायाले ५ लाख अशुलेका थिए । जसमध्ये उनीसँग ५० हजारको मात्र प्रमाण छ । 

बिभागमा उजुरी दिनु अघि रोकायाले साउथ अफ्रिका लैजाने भनि पिडितहरुलाई दुई महिनासम्म भारतमा राखेका थिए । पीडितहरु मध्ये सिन्धुपाल्चोकका नुमा शेर्पाले रोकायलाई ९ लाख नगद कारोबार गरेर ठगिएको पाइएको छ । रोकायाले वैदेशिक रोजगारको प्रलोभनमा दिल्लीमा एक कोठामा लगेर राख्ने र एयरपोर्ट सेटिङ मिलाउछु भन्दै बाहिरिन्थे । 

भारतमा लामो समयसम्म काम नभएपछि नेपाल फर्किएका पीडितहरु काठमाडौँमा पनि रोकायकै आग्रहमा एक महिनासम्म रोजगारीमा जान पाउने आशामा बसेका थिए । तर एकाएक रोकाय सम्पर्क बिहिन बनेपछि पीडितले बिभागमा उजुरी दिएका थिए । पिडितहरुमध्ये लमजुङका खेम गुरुङले रोकायासँग कारोबार गर्दा बैंकिङ प्रमाण राखेका थिए । जसको आधारमा उनले वैदेशिक रोजगार बिभागमा उजुरी दिन सके । बाँकी अरु पीडितहरुले नगत कारोबार गरेको र भौचरनै भएपनि प्रयोजन नखुलेपछि उजुरी दिन असमर्थ भएको बताए ।


प्रमाणको आधारमा बिभागमा उजुरी परेपछि बिभागले रोकायलाई पक्राउ गर्न २०७६ माघमै पक्राउ पुर्जी काटेपनि लामो समय बितिसक्दा पनि रोकाय पक्राउ पर्न सकेका छैनन् । पीडित आफै बिभागले दिएको पक्राउ पुर्जी लिएर बानेश्वर स्थित अपराध महाशाखामा पुगेका थिए । तर लामो समय बितिसक्दा समेत ठगीमा संलग्न रोकायलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडितको गुनाशो छ । पीडितले दुखेसो पोख्दै भने ‘प्रहरीबाट कुनै खबर आएन, रोकायले आफू अहिले युएई रहेको भने पनि उनि अझै पनि भारत वा नेपालमै छन् । ठूला-बढा ठगिएको भए तत्काल पक्राउ पर्थे होला, हामी सामान्य नागरिक ठगियौं । न्याय पाइने/नपाइने अन्यौलमै छौं ।‘ 


पीडितले अगाडी भने ‘अहिलेसम्म प्रहरीले कुनै जानकारी दिएको छैन । बिभागबाट चाही एक पटक फोन आएको थियो ।‘ पीडितले आफू ठगिएपनि सम्बन्धित व्यक्तिले अरु नेपाली युवाहरुलाई ठग्न नसकोस् भन्ने चाहेको बताए । ठगीमा संलग्नले वैदेशिक रोजगार अन्तर्गत ठगिलाई पेशानै बनाएको कारण अरु पनि धेरै युवाहरु ठगिएको हुनसक्ने र लामो समयसम्म प्रहरीले सम्बन्धित व्यक्तिलाई पक्राउ नगर्दा आफूजस्तै कयौं ठगिन सक्ने चिन्ता व्यक्त गरे । पीडित गुरुङ भन्छन् 'वैदेशिक रोजगारको आशामा आमाले ऋण खोजेर लिएको पैसा ठगले खायो, तीनबर्षदेखि झुलायो । न रोजगार न पैसा भयो । अहिले त्यहि पैसाको ब्याज तिर्दै बस्न बाध्य हुनुपरेको छ ।' 

पीडितबाट प्राप्त ठगीमा संलग्न रोकायाको नागरिकता अनुसार उनि सुर्खेत जिल्ला छिन्चु (साविक गाविस) हाल भेरिगंगा-४ का हुन् । उनि काठमाडौँको बौद्ध/जोरपाटी क्षेत्रमा आफ्नो छोरा र श्रीमतीसँग बस्दै आएका छन् ।ठगीमा संलग्न रोकायाले अन्य धेरै युवाहरुलाई पनि ठगि गरेको हुनसक्ने पीडितहरुले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!