मलेसियामा एक कम्पनी विरुद्दको मुद्दा नेपाली लगायत ६५ श्रमिकले जिते

Posted on: 13 Jun, 2021

जेठ ३०, काठमाडौँ । मलेसियामा रहेको अमेरिकी कम्पनी गुड ईयर टायर विरुद्दको मुद्दा नेपाली लगायतका श्रमिकहरुले जितेका छन् । अदालतमा चलिरहेको एक मुद्दामा बुधवार अदालतले श्रमिकको पक्षमा फैसला गरेको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार दर्जनौं श्रमिकले हालेको कम्पनी विरुद्दको मुद्दामा श्रमिकको पक्षमा फैसला आएको हो । नेपाली लगायतका दर्जनौं श्रमिकहरुले आफूले पाउनु पर्ने सेवा सुविधा वापतको रकम, ओभरटाइम वापतको रकम नपाएको, राहदानी लगायतको व्यक्तिगत कागजात कम्पनीले अवैधानिक रुपमा कव्जामा राखेको लगायतका विषयमा मुद्दा हालेका थिए । यस अगाडी नै दुईवटा मुद्दा श्रमिकले जितिसकेका थिए ।

सेलेंगरमा रहेको गुड ईयर टायरमा काम गर्ने नेपाल, म्यानमार तथा भारतका ६५ जना श्रमिकले कम्पनी विरुद्द मुद्धा हालेका थिए । उनीहरुको तर्फबाट अधिवक्ता आर चन्द्रा सेगारनले मुद्दा लड्दै आएका थिए ।

२० लाख रिंगिट बरावरको रकम आफूहरुले कम्पनीबाट नपाएको भन्दै ति श्रमिकले मुद्दा हालेको अधिवक्ता सेगरनले बताएको एएफपीले जनाएको छ । कम्पनीले आफ्नो तर्फबाट कुनै रकम दिन बाँकी नरहेको दावी गरेपनि अदालतले श्रमिकले दावी गरे अनुसारको रकम भुक्तानी गर्नुपर्ने आदेश दिएको हो ।

अधिवक्ता सेगरनले अदालतले मलेसियामा काम गर्ने विदेशी श्रमिकले पनि मलेसियन नागरिकले जस्तै सेवा, सुविधा पाउनु पर्ने पक्षमा फैसला गरेको बताएको समाचारमा जनाइएको छ । आप्रवासी श्रमिकलाई कुनै भेदभाव गर्न पाइन्न भन्ने कुरा अदालतले स्थापित गरेको छ, उनले भनेका छन् ।

गुड ईयर कम्पनीले भनें अदालतको फैसलाका बारेमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट पारेको छैन । यस विषयमा एएफपीले प्रतिकृया माग्दा कम्पनीले कुनै जवाफ दिएको छैन । यस अगाडी १ सय १९ जना श्रमिकले हालेको मुद्दामा अदालतले यस्तै फैसला गरेकोमा कम्पनीले उच्च अदालतमा पुनरावेदन हालेको छ ।

मलेसियामा कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको, विभेद गरेको मुद्दा पछिल्ला केहि बर्षयता चर्को रुपमा उठ्दै आएको छ । ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको घटना सार्वजनिक भएपछि टप ग्लोव्स लगायतका कम्पनी समस्यामा फसेका थिए ।, पछि ति कम्पनीहरुले आप्रवासी श्रमिकलाई उनीहरुले भुक्तानी गरेको भर्ना शुल्क फिर्ता गर्नुपरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!