वैदेशिक रोजगारमा पठाउने काममा सक्रिय कन्सल्टेन्सीको सिल खुल्यो (भिडियो सहित)

Posted on: 30 Mar, 2021

चैत १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले पुरानो बानेश्वर स्थित ग्लोबल इन्फो एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसमा गत बुधबार गरेको सिल खोलेको छ । गत बुधबार बिभागको टोली उक्त कन्सल्टेन्सीमा पुग्दा कन्सल्टेन्सी बन्द अवस्थामा रहेपछि बिभागले स्थानीय प्रहरी, घरबेटी र मिडिया सहितको रोहबरमा सिल गरेर आएको थियो । 


बिभागले सिल गरेसंगै दर्जनौं युवाहरुले उक्त कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारको लागि बिभिन्न देशमा जानको लागि आवेदन दिएको र आफूहरुसँग पासपोर्ट र अग्रिम पैसा समेत लिईसकेको भन्दै वैदेशिक रोजगार बिभागमै उजुरी दिएका छन् । कन्सल्टेन्सीमा बिभागले लगाएको सिल खोलेपछि बिभिन्न देशमा वैदेशिक रोजगारमा लानको लागि आवेदन भएको १६ थान फाइल सहित १३ थान पासपोर्ट बिभागले बरामद गरेको छ । 

साथै बिभागले उक्त कन्सल्टेन्सीबारे थप अनुसन्धानको लागि उक्त कन्सल्टेन्सीले प्रयोग गर्दै आएको सिपीयु, सिसिटिभीको हार्ड डिस्क र कागजातहरु बरामद गरेको छ । 


नेपालको वर्तमान वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारमा पठाउने इजाजत नपाएको कुनैपनि संस्था वा व्यक्तिले वैदेशिक रोजगारमा पठाउने कार्य गरे वा पैसा अशुली गरेमा वैदेशिक रोजगार ऐन २०६४ अन्तर्गत कारवाही गर्ने प्रावधान छ । बिभागले सिल खोल्ने क्रममा उक्त कन्सल्टेन्सीका संचालक सुन्दरमणि अधिकारी पनि उपस्थित थिए, उनले आफ्नो कन्सल्टेन्सी मार्फत वैदेशिक रोजगारको लागि बिभिन्न देशमा आवेदन दिएकाहरुलाई पासपोर्ट र पैसा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


उक्त कन्सल्टेन्सीका संचालकलाई के कारवाही हुन्छ भन्ने सम्बन्धमा वैदेशिक रोजगार बिभागले अनुसन्धानपछि प्रचलित ऐन अनुसारनै कारवाही हुने जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगार बिभागले इजाजतनै नपाएका कन्सल्टेन्सी तथा व्यक्तिहरुले वैदेशिक रोजगारमा पठाउने काम गरेको सम्बन्धमा विशेष ध्यानाकर्षण गर्दै युवाहरुले दिने सूचनाको आधारमा नियमित अनुगमन गरिरहेको छ । 

भिडियो हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!