चर्को लागत माग्ने म्यानपावरमा अनुगमन, पैसा लिने क्रममा मोवाइल निषेध ! (भिडियो सहित)

Posted on: 27 Mar, 2021

चैत १४, काठमाडौँ | वैदेशिक रोजगार बिभागले शुक्रबार धुम्बाराहीस्थित प्यारागन एचआर म्यानेजमेन्ट प्रा.लि. मा अनुगमन गरेको छ । कतार जान लागेका तीन जना युवाहरुसँग प्रतिव्यक्ति दूई लाख १५ हजार लागत रकम मागेको उजुरीको आधारमा बिभागले शुक्रबार दिउसो उक्त म्यानपावरमा अनुगमन गरेको हो । 


अनुगमनको क्रममा म्यानपावरले मागे बमोजिमको रकम बुझाउने क्रममा गएका पिडितहरुलाई म्यानपावर संचालिका सुनिता श्रेष्ठले मोबाइल रिसेप्सनमै राखेर मात्र आफ्नो कार्य क्षेत्रमा छिर्न निर्देशन दिएकी थिइन् । पिडितहरुले संचालिकालाई पैसा बुझाए लगत्तै बिभागको अनुगमन टोली उनको कार्यकक्षमा पुगेको थियो । बिभाग टोली पुग्दा संचालिका श्रेष्ठले पिडितहरुबाट लिएको पैसा राख्न समेत भ्याएकि थिइनन् । बिभाग पुगे लगत्तै संचालिका श्रेष्ठले सुरुमा आफूले पैसा लिएको स्वीकारेपनि पछि घटनालाई मोड्न पिडितहरु आफैले पैसा टेवलमा राखिदिएको आशय व्यक्त गरेकी थिइन् । 

माथिको तश्विरमा: पिडितहरुबाट म्यानपावरले लिएको रकमको भेरिफाइ गर्ने क्रममा अनुगमन अधिकारीहरु, साथमा म्यानपावर संचालिका ।

बिभाग टोलिसंगै म्यानपावरमा पुगेका पिडीतहरुलाई म्यानपावरमा मोबाइल प्रयोग गर्न कि निषेध गरेको भन्ने प्रश्नमा संचालिका श्रेष्ठले आफ्नो कार्यालयमा मोबाइल छिराउन नदिने सिस्टम सुरु भएको बताएकी थिइन् । पिडित युवाहरुले भने पैसा बुझाउन बोलाएकोले मोबाइल छिराउन नदिएको बताएका छन् । 

म्यानपावरले चर्को लागत मागेपछि बैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका युवाहरुलाई सम्बन्धित म्यानपावरमा अनुगमन पछि बैदेशिक रोजगार बिभागले सरकारले तोकेकै लागतमा वैदेशिक रोजगारमा पठाउन निर्देशन दिएको छ ।

माथिको तश्विरमा: पिडितहरुलाई बैदेशिक रोजगारको लागि सम्पूर्ण आवश्यक कागजात दिलाउँदै बिभागबाट अनुगमनमा खटिएका एक अधिकारी ।

साथै विभागले तत्कालै म्यानपावर मार्फत तीनै जना युवाहरुलाई म्यानपावरबाट वैदेशिक रोजगारमा उडानको सम्पूर्ण कागजात तथा पासपोर्ट दिलाएर पठाएको छ । युवाहरुले म्यानपावरलाई पहिलेनै बुझाएको अग्रिम रकम समेत आगामी सोमबार म्यानपावरबाट पिडितहरुका आफन्तला ई फिर्ता गराइने बिभागका अनुगमन अधिकारी मातृका सापकोटाले बताएका छन् ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ मा गरेको निर्णय अनुसार मलेसिया सहित खाडीका ६ देशमा जाँदा बढीमा १० हजार सेवा शुल्क लिन पाउने व्यवस्था छ । यस व्यवस्थाको विपक्षमा रहेर वैदेशिक रोजगार व्यवसायीहरु चलिरहेका छन् । सरकारले फ्री भिसा, टिकटको नीति लिएपछि व्यवसायीहरुले सेवा शुल्कबापत कम्तिमा कामदारको एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउने माग राख्दै आएका छन् । तर कतिपय म्यानपावर कम्पनीहरुले आफ्नै मागलाई समेत कुल्चिएर वैदेशिक रोजगारमा जाने कामदारसँग कम्तिमा ४ महिना भन्दा बढीको तलब बराबरको सेवा शुल्क उठाउने गरेका छन् । सेक्युरिटी गार्डहरुको हकमा झन् कामदारले १० महिनासम्म विदेशमा गएर कमाएको पैसाले समेत म्यानपावर/एजेन्टहरुले लिएको लागतलाई पूर्ति गर्न नसक्ने अवस्था छ । पछिल्लो समय यस्ता क्रियाकलापको उजुरी लगत्तै वैदेशिक रोजगार बिभागले अनुगमन टोली खटाउने गरेको वैदेशिक रोजगार बिभागमा शाखा अधिकृत मात्रिका सापकोटाले बताएका छन् । 

भिडियो रिपोर्ट हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!