'कतारमा विश्वकपलाई साध्य बनाउन श्रमिकहरूले कष्ट भोगिरहेका छन्'

Posted on: 22 Mar, 2021

चैत्र ९, काठामाडौं । एमनेष्टि इन्टर्नेशनलले आप्रवासी श्रमिकका लागि कतार सरकारले ल्याएका विद्यमान सुधार कार्यक्रमहरूलाई गम्भीरताका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ । एमनेष्टि इन्टर्नेशनलले एक विज्ञप्ति जारी गर्दै कतारमा श्रमिकहरूले प्राप्त गरेका नयाँ अधिकारहरूलाई छिन्ने खालको प्रस्तावहरूलाई अस्वीकार गर्न फिफाले कतारसँग आफ्नो अवाज दरिलोसँग उठाउन पनि आग्रह गरेको छ ।

एमनेष्टि इन्टर्नेशनलले जारी गरेको विज्ञप्ति 

कतार विश्व कप २०२२ का छनौट प्रतियोगिताहरू सुरू हुनुअगाडि एम्नेस्टी इन्टरनेसनलले आप्रवासी श्रमिकहरूमाथिको दुर्व्यवहार अन्त्य गर्न सघाउनका लागि फिफालाई कतारी अधिकारीहरूमाथि आफ्नो प्रभावको प्रयोग गर्न आह्वान गरिरहेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई लेखिएको पत्रमा एम्नेस्टीले मानवअधिकारका जोखिमहरूलाई रोक्न, न्यूनीकरण गर्न र समाधान गर्नका लागि आफ्नो जिम्मेवारी अनुरूप गर्न र कतारलाई आफ्नो श्रम सुधारका कार्यक्रमहरू विश्वकप प्रारम्भ हुनुभन्दा अगावै पूरा गराउन “आफ्नो प्रभावको पूरा मात्रालाई प्रयोग गर्न” आह्वान गरेको छ ।

विश्वकप आयोजना गर्ने सम्झौताको उपाधि पाएपछि बढ्दो छानबिनको प्रतिक्रियामा कतारले हालैका वर्षहरूमा धेरै सकारात्मक सुधारहरू ल्याइसकेको छ । तर यी सुधारहरू प्रायः राम्रो सँग कार्यान्वयन हुँदैनन् र हजारौँ आप्रवासी श्रमिकहरूमाथि शोषण र दुर्व्यवहार जारी रहेको छ । भर्खरै कतारको शुरा काउन्सिल भनिने एउटा सल्लाहकारी निकायले केही सिफारिसहरू पेश गरेको छ जसलाई यदि सरकारले स्वीकार गरेमा पछिल्ला सुधारले ल्याएका धेरैजसो प्रगतिहरू उल्टिनेछन् र श्रमिकहरूको काम परिवर्तन गर्ने र देश छोड्ने अधिकारमा पुनः प्रतिबन्ध लाग्नेछ।

"कतारको श्रमशक्तिको ९५ प्रतिशत हिस्सा रहेको आप्रवासी श्रमिकहरूबिना यो विश्वकप सम्पन्न हुने सम्भावना छैन। रंगशाला र सडकदेखि आतिथ्यता र सुरक्षा क्षेत्रसम्ममा हजारौँ माइलको यात्रा गरी आफ्नो परिवार धान्नका लागि आएका पुरुष र महिलाको कडा परिश्रममा यो प्रतियोगिता निर्भर छ। तर प्रायः यी श्रमिकहरू कतारमा आफ्नो समय अझै पनि दुर्व्यवहार र शोषणले परिभाषित रहेको पाउँदछन्," एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्यायका प्रमुख स्टीव कक्बर्नले भने।

“अन्तर्राष्ट्रिय मापदण्डहरूअन्तर्गत विश्वकपका प्रतियोगिताहरूबाट उत्पन्न हुने मानवअधिकारका जोखिमहरूलाई न्यूनीकरण गर्ने दायित्व आयोजक निकायको नाताले फिफामा रहेको छ। यसमा खेलहरू संचालनलाई सहज पार्न व्यापक रूपमा विस्तार गरिएका आतिथ्यता र यातायात उद्योगका श्रमिकहरूमा हुने जोखिम पनि समावेश छ। यो हप्ता हुने छनौटका खेलहरूले कतारलाई दबाब दिने फिफाका अवसरहरू बन्ध भइरहेको सम्झना गराउँदछ। फिफाले  विश्वकप २०२२ लाई श्रम दुर्व्यवहारको दागले धुमिल भएको प्रतियोगिता नभएर एउटा गर्व गर्न लायकको प्रतियोगिता हो भन्ने सुनिश्चत गर्न कदम चाल्नु पर्दछ।"

विश्वकपलाई साध्य बनाउन श्रमिकहरूले कष्ट भोगिरहेका छन्

आप्रवासी श्रमिकहरूमाथि कतारको अत्यधिक निर्भरता र त्यहाँको शोषणयुक्त श्रम प्रणालीका कारण जब फिफाले कतारमा विश्वकप आयोजना गर्ने निर्णय गर्‍यो उसलाई पक्कै थाह थियो वा थाह हुनुपर्दथियो कि उक्त निर्णयमा मानवअधिकारसम्बन्धी जोखिमहरू निहित छन्। फलस्वरूप फिफालाई थाहा थियो वा थाहा हुनुपर्दथ्यो की सबै क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकहरूले चाहे ती विश्वकप आयोजनासम्बन्धी आधिकारिक स्थलहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन् वा नहुन् विश्वकप सम्भव बनाउनका लागि कष्टपूर्ण जीवन भोग्नु पर्नेछ।

यही चैत्र दुई गते एम्नेस्टीले फिफालाई पत्र लेख्दै अन्तर्राष्ट्रिय मानवअधिकारअन्तर्गतको आफ्नो दायित्वहरू पूरा गर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघको व्यापार र मानवअधिकारसम्बन्धी मार्गनिर्देशक सिद्वान्तअनुसार  फिफाले विश्वकप आयोजना गर्ने क्रममा विश्वकप परियोजना र स्थलहरूमा स्वतन्त्र र नियमित अनुगमन गरेर तथा प्रतियोगितासँग जोडिएका मानवअधिकार ज्यादतीका घटनाहरूको पहिचान र निवारणका लागि उचित रखवारी (due diligence) गरेर  विश्वकप आयोजना र सम्पन्न गर्ने क्रममा मानवअधिकारको सम्मानलाई सुनिश्चित गर्नुपर्दछ। अझ महत्त्वपूर्ण त कतारी अधिकारी र अरू सरोकारवालाहरूसँगको सहकार्यमा विश्वकपका सबै परियोजनामा श्रमिकहरूले अहिलेसम्म भोगेका हानिलाई सही ढङ्गले सम्बोधन गरेको सुनिश्चित गर्ने जिम्मेवारी फिफाको रहेको छ ।

"विद्यमान सुधार कार्यक्रमहरूलाई गम्भीरताका साथ कार्यान्वयन गर्न र श्रमिकहरूले प्राप्त गरेका नयाँ अधिकारहरूलाई छिन्ने खालको प्रस्तावहरूलाई अस्वीकार गर्न फिफाले कतारसँग आफ्नो अवाज दरिलोसँग उठाउनु पर्दछ," स्टीव कक्बर्नले भने ।

आफ्नो अवाज मिलाउन फुटबल प्रशंसकहरूलाई आह्वान

सन् २०१७ मा मानवअधिकार नीति र सन् २०१९ अक्टोबरमा संयुक्त फिफा विश्वकप कतार २०२२ दीर्घकालीन रणनीति ल्याउने लगायत फिफाले आफ्नो जिम्मेवारी निभाउन हालैका वर्षहरूमा चालेका कदमहरूलाई एम्नेस्टी  स्वागत गर्दछ। फिफाले "कतार र अन्तराष्ट्रिय रूपमा श्रमिकका लागि एउटा विश्वस्तरीय मापदण्ड र अभ्यास" छोड्ने वाचा गरेको थियो तर निरन्तर जारी गम्भीर श्रमिक दुर्व्यवहारले अझै धेरै गर्न बाँकी रहेको देखाउँदछ।

उदहारणका लागि सन् २०२० मा निर्माणक्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकारको सवालमा "दैनिक उचित हेरविचार" कतार विश्वकप निरीक्षण गर्ने सरकारी निकाय सर्वोच्च समिति (Supreme Committee) द्वारा गरिने फिफाले एम्नेस्टी इन्टरनेसनललाई बताएको थियो ।

७७० मिलियन यूरो लागतको अल-बयत रंगशाला निर्माणमा कार्यरत श्रमिकहरू बिना भुक्तानी सात महिनासम्म काम गरेको जब एम्नेस्टीले पत्ता लगायो तब यस्तो वास्तविकताभन्दा दूर रहेको दृष्टिकोण एकदमै अपर्याप्त रहेको देखिएको थियो। सर्वोच्च समितिलाई यस मुद्दाबारे एक वर्षदेखि थाहा रहेको भएपनि फिफाले आफू जानकार नरहेको कबुल गरेको थियो। यसले विश्वकप हुने स्थलहरूमा स्वतन्त्रपूर्वक अनुगमन गर्ने सवालमा फिफा एकदमै धेरै गम्भीर र लगनशील हुनुपर्ने कुरा देखाएको छ।

विश्वभरका एम्नेस्टी इन्टरनेसनलका कार्यालयहरूले अहिले फुटबल प्रशंसकहरूलाई फिफा प्रतियोगिता सम्भव बनाउनका निम्ति काम गरिरहेका श्रमिकहरूको अवस्थामा परिवर्तन ल्याउन एउटा आह्वानपत्रमा हस्ताक्षर गर्नका लागि आग्रह गरिरहेका छन्। सन् २०२० नोभेम्बरमा २७ देशहरूमा रहेका एम्नेस्टी इन्टरनेसनलका कार्यालयहरूले आप्रवासी श्रमिकहरूको हक-अधिकार सुनिश्चित गर्न  क्रियाशील भूमिका खेल्नका लागि आफ्ना राष्ट्रिय फुटबल सङ्गठनलाई पनि पत्रचार गरेका थिए।

यसैबीच कतारको मानवअधिकार विषयका सवालमा धेरै देशका फुटबल समर्थक समूहबीच पनि चासो बढ्दै छ र केहीले वहिष्कारको माग समेत गरेका छन् । "फुटबल समुदायले व्यक्त गरेको चासोलाई फिफाले गम्भीरतापूर्वक लिनुपर्दछ र यसलाई सम्बोधन गर्नका निम्ति ठोस कदम चाल्नुपर्दछ," स्टीव कक्बर्नले भने।

"विश्वकपसँग जोडिएका सबै क्षेत्रहरूमा कार्यरत आप्रवासी श्रमिकहरूलाई उचित भुक्तानी उपलब्ध गराउन, न्यायपूर्ण व्यवहार गर्न र शोषणकारी रोजगारदाताको अंकुशबाट मुक्ति दिलाएको सुनिश्चित गर्न फिफा र कतारले एउटा बलियो र प्रभावकारी कार्ययोजना लागू गर्नुपर्दछ।"

यस बिषयमा तपाइको प्रतिक्रिया...!