वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय

Posted on: 18 Dec, 2020

पुस ३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन् । 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लािग निरन्तर अगाडि बढिरहेको बताएका छन् । 

नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरु उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हकअधिकार रक्षाका लागि श्रम ऐन, २०७४ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताएका छन् । सीपयुक्त जनशक्तिको विकासका लागि समेत तदारुकताका साथ गृहकार्य अगाडि ढाइएको मन्त्री रायको भनाइ छ ।

आप्रवासीमाथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घबाट डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित भएको थियो । 

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा डिसेम्बर १८ का दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै नेपालले पनि डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!