वैदेशिक रोजगारको प्रलोभनमा पारी मानव तस्करी गर्ने दुईजना पक्राउ

Posted on: 13 Dec, 2020

मङ्सिर २८, काठमाडौँ | बैदेशिक रोजगारको प्रलोभनमा पारी मानव तस्करीमा संलग्न दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । 

मानव तस्करमा संलग्नहरुले पांच जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारेर गैरकानुनी तरिकाले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत, त्यसपछि खाडीका दुवई तथा कतारको बाटो हुँदै मोजाम्बिक पुर्याएको र त्यहाँबाट पनि साउथ अफ्रिका पुर्याई बिक्रि गरेर शारीरिक, मानसिक र आर्थिक शोषण गरेको पाइएको छ । साथै पिडितहरुलाई ४/५ महिनासम्म बन्धक बनाएर राखिएको थियो । 

पिडितहरुले आफू बन्धक रहेको अवस्थामा कोहि नभएको बेलामा भागेर नेपाली दुतावास पुगेका थिए । त्यसपछि दुतावासमार्फत आफन्तको सम्पर्कमा आई नेपाल फर्किएका थिए । त्यसपछि पिडितहरुले मानव तस्करीमा संलग्नहरु विरुद्ध उजुरी दिएका थिए । 

पिडितहरुको उजुरीको आधारमा मानव तस्कर व्युरोले ताप्लेजुङ मिरिङदेङ-४ स्थाई घर भएका गणेश कुमार लोंवालाई गत १६ गते काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको छ भने सोहि मानव तस्करीमा संलग्न सिन्धुपाल्चोक जिल्ला सिन्धुकोट-२ घर भएकी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई आज काठमाडौँकै चाबहिलबाट पक्राउ गरेको छ । 


मानव तस्कर व्युरोले दुवै पक्राउ परेका तस्करीमा संलग्नहरुलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । उनिहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!