मध्यान्ह १२ बजेतिरै बेलुकाको ५ बजाएर अभिमुखिकरण तालिम संस्थाहरुद्वारा सेटिङ, बिभागको मिलिमतो

Posted on: 01 Aug, 2024

अनिल अधिकारी । साउन १७, काठमाडौँ । वैदेशिक रोजगारमा पठाउनु अघि युवाहरुलाई पुर्व प्रस्थान अभिमुखिकरण तालिम दिनुपर्ने अनिवार्यता छ । तर केहि बर्ष यता सरकारले सेटिङमा काम गर्न खुलेयाम छोडिदिदा अभिमुखिकरण तालिम केन्द्रहरुले अधिकांश युवाहरुलाई अभिमुखिकरण तालिमनै नदिई सेटिङमा प्रमाणपत्र मात्र दिएर पठाउने गरेका छन् ।

सेटिङ गर्ने अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुले वैदेशिक रोजगारको प्रक्रियामा रहेको युवालाई अभिमुखिकरण तालिमनै नदिई बायोमेट्रिक समेत आफै गरिदिएर तालिम प्रमाणपत्र जारी गर्ने गरेका छन् । अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुले तालिम बापत युवाहरुसँग प्रतिव्यक्ति सात सय मात्र लिन पाउने अवस्थामा सेटिङ गरेपछि दुई हजारसम्म अशुल्ने गरेको पाइएको छ । यसरी अभिमुखिकरण तालिममा सेटिङ मिलाउने भूमिका वैदेशिक रोजगारमा पठाउने म्यानपावरले समेत गर्ने गरेका छन् । म्यानपावर व्यवसायीहरुले अभिमुखिकरण तालिम प्रदायकहरुसँग कमिसन लिने गरेका छन् । त्यसमा पनि मिलिमतोमा कामदारलाई दुई दिनको कक्षामा समेत उपस्थित नगराई पैसा तिरेर तालिम लिएको प्रमाणपत्र लिनमा म्यानपावरहरुकै बढी सक्रियता रहेको छ । उता तालिम लिनुपर्ने युवा समेत तालिम लिने झन्झटबाट मुक्त हुन अबैध रकम बुझाउन तयार भईरहेको पाइएको छ ।     

विदेश जानु अघि धेरै कुरा बुझेर सिकेर जानुपर्ने उदेश्यले १४० संस्थाहरुले वैदेशिक रोजगार पुर्व अभिमुखिकरण तालिम लिने अनुमति पाएका छन् । केहि बर्ष यता यो क्षेत्रमा बेथिति सुरु भएपछि क्रमश अधिकांश संस्थाले तालिमनै नदिई प्रमाणपत्र मात्र जारी गर्ने गरेका छन् । जसको कारण बिभागको रेकर्डमा भरिभराउ देखिएका अभिमुखिकरण तालिम केन्द्रहरुका कोठामा जाँदा खालि कक्षाकोठा मात्र हुने गरेका छन् । कतिपय संस्था झोलामै राखेर चलाइएका छन् । तालिम दिने कोठा खालीनै भएपनि सेटिङमा मान्छे देखाएर तालिम शुल्क भने अशुलिने गरेको पाइएको छ । 

 

तश्वीरमा: अभिमुखिकरण तालिम दिईने खालि कोठा ।

पछिल्लो समय वैदेशिक रोजगार बिभागले गरेको अनुगमनबाट ४६ अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु कारवाहीमा परेका छन् । यसरी कारवाहीमा परेका संस्थाहरुले तालिम नदिएको, तालिम दिन बिभागको सिस्टममा युवाहरुको नाम इन्ट्री गरेपनि अनुगमनमा जाँदा तालिम लिनेहरुनै नभेटिएको जस्तो कारण देखाइएको छ । तर बिभागले आफ्नै सिस्टममा प्वाल राखिदिएर उक्त प्वालमा व्यवसायीहरुलाई छिर्ने उपाय सिकाएर मद्धत गरिरहेको पाइएको छ । बिभागका कर्मचारी आफैले बिभिन्न उपाय सिकाएर तालिम प्रदायकहरुसँग प्रति सेटिङ दुई सयका दरले पैसा लिईरहेको व्यवसायी स्रोतको दावी छ । स्रोतको दावीलाई आधार मान्ने हो भने सेटिङधारीहरुलाई सहयोग गरे बापत बिभागका केहि कर्मचारीले दैनिक डेढ लाखदेखि दुई लाखसम्म सेटिङबाटै अशुलिरहेको अनुमान गर्न सकिने अवस्था छ । बिभागमा अधिकारी थर भएका कर्मचारीको हालीमुहालीमा अभिमुखिकरण तालिम सेटिङधारीहरुले बिगतमा पैसानै बुझाएर काम गर्दै आएको गुनाशो आएको थियो । ति कर्मचारी अझै बिभागमै रहेको स्रोत बताउँछ । एक व्यवसायीसँग यसै सम्बन्धमा बुझ्दा ति अधिकारी थर भएका कर्मचारी अहिले अलि असुधारको पक्षमा रहेको बताए । तर पहिले आफूले पनि पैसा बुझाएको ति व्यवसायी दावी गर्छन् । 

श्रममन्त्री डिपी अर्याल बहाल रहेको सुरुको अवस्थामा सेटिङमा काम हुन छाडेको सम्बन्धित व्यवसायी स्रोतले जानकारी दिएको छ । तर अर्याल मन्त्री रहेकै अवस्थामा गत असार दोश्रो सातादेखि एकाएक बिभागले अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुको अनुगमन सुरु गर्यो । केहि महिना सेटिङको पैसा लिन नपाएको अवस्थामा एकाएक अनुगमन भएको थियो । बिभागले यसअघि पनि पटक-पटक अनुगमन गर्ने गरेको तर त्यसको औचित्य पुष्टि गर्ने गरि कारवाही गरेको हालसम्म देखिएको छैन । अनुगमनपछि बार्गेनिङ गर्दै छोड्ने गरिएको बताइएको छ । त्यसो त अभिमुखिकरण तालिम प्रदायकहरुले युवाहरुलाई तालिमनै नदिई प्रमाणपत्र दिने गरेको सम्बन्धमा पटक-पटक बिभिन्न मिडियाले समाचार लेख्दा पनि बिभागले नियन्त्रणको स्पष्ट कदम चालेको छैन । अनुगमनपछि पैसा र पावरमा कारवाही फुकुवा हुने परम्पराले स्थान पाउँदा यो बेथिति बर्षौंदेखि उस्तै अवस्थामा छ । 

अभिमुखिकरण तालिम प्रदायक संस्थाभित्रका सेटिङधारीहरुले बिभागका कर्मचारीलाई हातमा लिएर ग्रुप-ग्रुप मिलेर सेटिङको पैसा बुझाउँदै आएको बताइएको छ । पैसा पाउने अभिमुखिकरण तालिम प्रदायकहरुलाई छाड्ने र पैसा नबुझाउनेहरुलाई अनुगमन गर्ने गरिएको आरोप बिभागलाई छ । त्यसो त अभिमुखिकरण तालिम सुधार गर्न भन्दै व्यवसायीलाई ८६ इन्चको डिजिटल बोर्ड र आइरिस किन्न लगाएको बिभागले उक्त सिस्टमलाई समेत जोड्ने सम्बन्धमा तदारुकता देखाएको छैन । व्यवसायी सुध्रिएर काम गर्न चाहँदा समेत बिभागले सिस्टम सुधार्न नचाहेको व्यवसायीहरु बताउँछन् । केहि व्यवसायीले आफूहरुले वैदेशिक रोजगारमा जान चाहनेहरुलाई तालिम दिन चाहिरहेको अवस्थामा समेत सेटिङ गर्नेहरुको हालीमुहालीको कारण वास्तविक तालिम हुने संस्थामा तालिम लिनेहरुनै नआउने अवस्था रहेको गुनाशो गरेका छन् । बिभागले सुधार्न चाहने हो भने २/३ दिनमै यो क्षेत्र सुध्रने अवस्थामा बिभागले दैनिक आउने बाटो बन्द हुने बुझेरै सिस्टम सुधार गर्न नखोजेको आरोप छ । 

वैदेशिक रोजगार अभिमुखिकरण तालिम प्रदायकहरुले पछिल्लो समय टिममा मिलेर काम गर्ने गरेका छन् । टिमको नेतृत्व गर्नेहरु पनि छन् । विष्णु सुवेदी टिम, अभिमुखिकरण व्यवसायी महासंघको पुर्व अध्यक्ष समेत रहेका पूर्ण बहादुर मल्लको टिम, प्रेम बास्तोलाको टिम, टुनुकाजि पौडेलको टिम, महासंघका अध्यक्ष राजाराम गौतमको टिम, नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहेकी सीता देवकोटाको टिम, जनकपुरमा जयप्रकास यादवको टिम, उद्दव सापकोटाको टिम र विष्णु गड्तौला टिम रहेको छ । सबै टिममा ४ देखि १९ तालिम प्रदायक संस्थाहरु रहेका छन् । त्यस्तै बुटवल/भैरहवा टिम, पोखरा गटिम, बिरगंजमा टिम, नेपालगंज टिम, इटहरी टिम रहेका छन् । 

४६ संस्थालाई कारवाही गरेपछि पनि सेटिङ ! 

अभिमुखिकरण तालिमनै नदिई प्रमाणपत्र दिने गरेको भन्दै बिभागले पछिल्लो पटक ४६ अभिमुखिकरण तालिम प्रदायकलाई कारवाही गर्दा यो क्षेत्रको बेथिति भने उही सेटिङमै चलिरहेको छ । यो समाचार तयार पार्नु अघि बिहिबार दिउसो १ बजे प्राप्त विवरण अनुसार आरोग्य ओरिएन्टेसन एण्ड ट्रेनिङ सेन्टर र धनद तालिम केन्द्र प्रालिले सेटिङ गरेको साझा सबाल मिडियालाई प्रमाण प्राप्त भएको छ । दुवै संस्थाले तालिमनै नलिई सेटिङमा अभिमुखिकरण तालिमको प्रमाणपत्र जारी गरेको पाइएको हो । दुवै ट्रेनिङ सेन्टरले बिहिबार साँझ ५ बजेसम्म तालिम दिएपछि मात्र प्रमाणपत्र जारी गर्नुपर्ने हो तर सम्बन्धित व्यक्तिहरुको तालिमको समय सकिनु ५ घण्टा अगावै प्रमाणपत्र जारी गरेर बिभागबाट अन्तिम श्रम स्वीकृति समेत लिईसकेको भेटिएको छ । 


यी दुवै संस्थाले साउन १६ गते दुईदिने अभिमुखिकरण तालिमको लागि नाम इन्ट्री गरेका छन् । यसै अनुसार हेर्ने हो भने आज बिहिबार साँझ ५ बजेसम्म अभिमुखिकरण तालिम दिनुपर्ने हुन्छ । तर दुवै संस्थाले सेटिङमा प्रमाणपत्र जारी गर्दा दिउसो १ बजेतिरै सम्बन्धित युवाहरुले अन्तिम श्रम स्वीकृति समेत लिईसकेको भेटिएको छ । बेलुका ५ बजेसम्म तालिम लिईरहेको हुनुपर्ने युवाको तालिम लिनु ५ घण्टा अगावै श्रम स्वीकृति समेत जारी हुनुले यो क्षेत्रको बेथितिलाई प्रमाणित गर्दछ । 

यस सम्बन्धमा जानकारी वैदेशिक रोजगार बिभागका सूचना अधिकारी गुरुदत्त सुवेदिलाई दिँदा उनले अभिमुखिकरण तालिम प्रदायकहरुको बदमासी पासपोर्ट नम्वरबाट थाहा नहुने जानकारी दिए । उनले बदमासी गर्ने व्यवसायी बिरुद्ध नियमित अनुगमन भैरहेको भन्दै कारवाही भईरहेको बताए । उनले गलत भएको रहेछ भने सिसिटिभी हेरेर भएपनि कारवाही हुने बताए । यसै बिषयमा वैदेशिक रोजगार बिभागका महानिर्देशक डन्डुराज घिमिरेले सुधारकै लागि कारवाही चलाइएको बताए । उनले नियमानुसार नचलेका अभिमुखिकरण तालिम प्रदायकहरुलाई अनुगमन पछि तीन महिना निलम्बनको कारवाही गरेको बताए । महानिर्देशक घिमिरेले तालिम प्रभावकारी नभएको विषयमा बिभाग जानाकार रहेको भन्दै आइरिस प्रणालीलाई कार्यान्वयन गर्न श्रम मन्त्रालयले निर्देशन दिए बिभागले त्यसै अनुसार गर्ने बताए । 

बोर्ड सदस्यकै संस्था कारवाही सूचिमा

पछिल्लो समय वैदेशिक रोजगार बिभागले कारवाही गरेको अभिमुखिकरण तालिम प्रदायक ४६ संस्थाहरुमा वैदेशिक रोजगार बोर्ड सदस्य कल्पना पाण्डेको संस्था समेत छ । उनले संचालन गरेको तीनकुने स्थित कस्मिक ट्रेनिङ सेन्टर अभिमुखिकरण तालिम संचालनको मापदण्ड बिपरित रहेकै कारण बिभागले कारवाही गरेको हो । बोर्ड सदस्यकै संस्था कारवाही सूचिमा पर्नुले वैदेशिक रोजगार बोर्डको औचित्यमाथि समेत प्रश्न उठाउने ठाउँ बनेको छ । बोर्ड त्यस्तो निकाय हो जसले अभिमुखिकरण तालिमको मुख्य जिम्मेवारी लिनुपर्छ । पाण्डेलाई ओरिएन्टेसन व्यवसायीहरुले छानेर पठाएको नभई मन्त्रीको बाहुबलीमा बोर्डमा लागिएको व्यवसायीहरु बताउँछन् । बोर्ड सदस्यमा नियुक्ति लिएकी पाण्डे पुर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सम्दीको भतिजी हुन् । 

अर्कोतर्फ यता व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटी, ललितपुरको सदस्य समेत रहेका विष्णु गोपाल गड्तौलाको बिग किरण एसोसिएट्स प्रालि समेत बिभागको अनुगमनका क्रममा कारवाहीको सूचिमा छ । गड्तौला श्रममन्त्रालयका पुर्व सचिव केवल भण्डारीको ज्वाई हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!