क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि गुलसन झाको विश्व कीर्तिमान

Posted on: 19 Sep, 2024

असोज ३, काठमाडौँ । नेपाली क्रिकेटका उदाउँदा अलराउण्डर गुलसन झाले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै विश्व कीर्तिमान बनाएका छन्। १८ वर्ष २१४ दिनको उमेरमा उनले एकै खेलमा पाँच विकेट लिँदै ५० रनभन्दा बढी बनाएका छन्। यससँगै उनले क्रिस गेल र शाहिद अफ्रिदी जस्ता लेजेन्ड खेलाडीहरूको कीर्तिमान तोड्दै कीर्तिमानी खेलाडीको रूपमा उभिएका छन्।


यसअघि, पाकिस्तानका अब्दुल रजाकले सन् २००० मा भारतविरुद्ध २० वर्ष ५० दिनको उमेरमा उक्त उपलब्धि हासिल गरेका थिए। त्यस्तै, अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा र क्रिस गेलले २००३ मा अष्ट्रेलियाविरुद्ध २३ वर्ष २५३ दिनमा यो उपलब्धि पाएका थिए। तर, गुलसनले यी सबै कीर्तिमानलाई पछि पार्दै कम उमेरमा ओडीआई इतिहासमा ५ विकेट र ५० रन बनाउने विश्वकै २४ औं खेलाडी बनेका छन्।

ओमानविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएपछि ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो। गुलसनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाए। जवाफी ब्याटिङमा ओमानले २२१ रनको लक्ष्य ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। गुलसनले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिँदै नेपालका लागि उत्कृष्ट प्रदर्शन गरे तापनि नेपाल १ विकेटले पराजित भयो।

यद्यपि, गुलसनले खेलमा प्रभावशाली प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जिते। यो ऐतिहासिक उपलब्धि नेपाली क्रिकेटको लागि गर्वको क्षण हो, जसले विश्व क्रिकेटमा नेपाललाई नयाँ उचाइमा पुर्‍याएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!