'वैदेशिक रोजगारको मुख्य समस्या अदक्ष कामदार हो' - श्रममन्त्री भण्डारी

Posted on: 15 Feb, 2024

अनिल अधिकारी । फागुन ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप सहितको नेपाली कामदार वैदेशिक रोजगारमा पठाउन श्रम मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् । यूएईको अबुधाबी डायलग कार्यक्रममा सहभागी भएपछि दुबईमै बुधबार साँझ संचारकर्मीहरुसँगको भेटघाटमा श्रममन्त्री भण्डारीले समय अनुसार सीप र दक्षता सहितको नेपाली श्रमिकहरु अपग्रेड गर्नुपर्ने बताए । 


मन्त्री भण्डारीले आफू दुबईमा रहँदा दर्जनौं श्रमिकहरुलाई भेटेको जानकारी दिँदै विदेश आएर सम्बन्धित काममा दक्ष भएका धेरै नेपालीले यहाँको श्रम क्षेत्रमा राम्रो गरिरहेको र राम्रो पारिश्रमिक समेत आर्जन गरिरहेको बताए । उनले भने 'यहाँ कतिपय ठूला होटलमा नेपाली श्रमिकहरु कार्यरत रहेछन् । उहाँहरुसँग मैले उहाँहरुको अवस्थाबारे सोध्दा सबै राम्रो रहेको पाएँ । यसको मतलब दक्ष कामदार भएर काम गर्दा राम्रोनै रहेछ भन्ने हो । अहिले हाम्रो समस्यानै अदक्ष कामदार हो । सीपनै नसिकी सम्बन्धित कामको कुनै जानकारी दक्षता नहुँदा यहाँ आएकाहरुलाई समग्रमा समस्या रहेछ । मन्त्रालयले अब सीप र दक्षता सहितको श्रमिक बैदेशिक रोजगारमा पठाउन पहल लिईरहेको छ ।' 

आबुधावी डाइलग र साइडलाइन बैठकमा समेत आफूले यो पटक युवा लक्षित शिक्षा तथा कार्यक्रमद्वारा सीपमुलक रोजगारको लागि सहयोग मागेको र नेपाली कामदारको पेशागत सुरक्षामा जोड दिएको मन्त्री भण्डारीले बताए । मन्त्री भण्डारीले साउदी अरेबियासँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव गरिएको जानकारी दिए । नेपाल र साउदीबीच श्रम सम्झौताको लागि विगत ८ वर्षदेखि श्रम समझदारी गर्ने प्रयास भइरहेको छ । नेपालले राखेको प्रस्तावमा ‘स्वच्छ भर्ना प्रणाली’, सामाजिक सुरक्षा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयहरु छन् । त्यस्तै सीपमूलक जनशक्ति उत्पादनका सम्बन्धमा समेत दुवै पक्षले पहल लिने छलफल भएको छ ।

भेटमा मन्त्री भण्डारीले दक्ष कामदार उत्पादनमा पहल थाल्दा आफूले मिडियाहरु मार्फत अनावश्यक आरोपहरु खेप्नुपरेको भन्दै संचारकर्मीहरुसँग असुन्तुष्टि व्यक्त गरे । उनले दक्ष र सक्षम भएर विदेश आए अपमानित हुनु पर्दैन भन्ने कुराको चेतना छरेर सिप सिक्न र दक्ष बन्न मिडियाहरुले उत्प्रेरित गर्नु पर्ने समेत सुझाव दिए । छलफलको क्रममा श्रममन्त्रीको असन्तुष्टिलाई संचारकर्मीहरुले वैदेशिक रोजगारको क्षेत्रमा बेथिति बढेको कुरालाई श्रम मन्त्रालयले नतिजा देखाउने गरि व्यवस्थापन गर्न नसकेको कारण संचार माध्यमहरुकमा सम्बन्धित निकाय प्रति अविश्वास सिर्जना भएको ध्यानाकर्षण गराए । संचारकर्मीहरुले श्रमिकको हित बिपरित भएको बिबिध समस्याका बिषयमा मन्त्रालयले सुधार देखिने गरि काम गर्न, गलत गर्नेहरुलाई उचित कारवाही गर्न, नियमित अनुगमन गर्न र बिचौलियाहरुको स्वार्थमा प्रभावित नहुने हो भने मात्र संचारकर्मीले मन्त्रालयलाई सकारात्मक रुपमा हेर्न सक्ने बताए । त्यस्तै श्रमिकको समस्यालाई बढी ध्यान दिएर व्यवसायी पनि नमर्ने गरि सबै पक्षको कुरालाई ध्यानमा राखेर श्रम मन्त्रालयले मध्यमार्गी बाटोबाट समस्या समाधान गर्न सक्ने संचारकर्मीहरुको सुझाव छ । 

छलफलका क्रममा मन्त्री भण्डारीले आगामी दिनमा मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने संचारकर्मीहरुसँग छलफल गर्दै श्रम क्षेत्रको समस्या समाधानमा मन्त्रालयले काम गर्ने बताए । श्रम मन्त्रालयलाई केहि दलालहरुले आफ्नो चंगुलमा पार्न खोजेको विषयलाई स्वीकार्दै मन्त्री भण्डारीले आफू त्यसमा सचेत भएरै केहि श्रमिकमैत्री काम गर्न तत्पर भएको बताए । मन्त्री भण्डारीले दक्ष र श्रम क्षेत्रको बेथितिसँग लड्न सक्ने सुसुचित कामदारको उत्पादन गर्न सक्ने हो भने दलाली गर्नेहरु आफै पाखा लाग्दै जाने बताए । श्रम बजारमा आएर सिधै आफ्नो दक्षता र कामको क्षमता देखाउन सक्ने जनशक्तिको उत्पादन गर्न सक्ने हो भने श्रमिकको समस्या आफै समाधान हुन सक्ने उनको दावी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!