रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

Posted on: 13 Feb, 2024

फागुन १, काठमाडौँ | नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ ।

प्याकेजमा मासिक कम्तीमा २ हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको समाचारमा उल्लेख छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेको खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिले आफूहरू यूएई वा भारत हुँदै गएको सीएनएनलाई बताएका छन् ।


रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । रुसमा रहेका एक नेपालीले एभानगार्डमा बसेर रकेट लन्चर, बम, मेसिन गन, ड्रोन र ट्यांकको तालिम लिएको बताएका छन् ।

रुसी सेनामा भर्ना भएका धेरै नेपालीलाई रुसी भाषा बोल्नसमेत नआउने गरेको सीएनएनले जनाएको छ । युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गइसकेको छ । तर, रुसी सेनामा कति नेपाली छन् र उनीहरूको यथार्थ अवस्थाबारे सरकारसँग यकिन विवरण छैन ।

रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको छ भन्नेमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ । केही समयअघि मात्र रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका थिए ।

आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले रुसी सेनामा भर्ती नहुन सबैलाई अनुरोध गरेका थिए । रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लगेर छटपटाइरहेको र आफूजस्तै धेरै साथी फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!