विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरीले

क्रोएसिया, जापान र रोमानिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको हो । 

क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मिङमारले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बाट पक्राउ गरेको हो । 

त्यस्तै, रोमानिया पठाइदिन्छु भन्दै नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जगतले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । 

त्यसैगरि, जापान पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  भरतले १ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक १ लाख ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!