अवैध बाटो हुँदै इजरायल लगिएका ५० नेपाली फर्काइए, १० हजार मेरो भागमा भन्दै करोडौं अशुली !

Posted on: 30 Jan, 2024

माघ १६, काठमाडौँ । तस्कर गिरोहको सहयोगमा अवैध रुपमा इजरायल लगिएका मध्ये पछिल्लो समय ५० जना नेपाली फर्काइएका छन् । फर्काइएकाहरुलाई तस्करीमा पठाउने गिरोहले अहिले उपत्यकाको एक होटलमा फेरी पठाउने भन्दै आश्वासन दिएर होटल बाहिर जान नदिई राखेको पाइएको छ । 

इजरायल रोजगारको प्रलोभनमा पारिरहेको गिरोह केहि महिनादेखि नेपाल सरकारको बैधानिक बैदेशिक रोजगारको नीति छलेर मानव तस्करीको बाटो हुँदै भारत, थाइल्याण्ड, श्रीलंका, भियतनाम र दुवईको बाटो हुँदै इजरायल पठाउन सक्रिय छ । गिरोहले बैधानिक बाटो छलेर नेपालीहरुलाई तस्करीको बाटो लगिरहेको सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक तथा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख जीवन कुमार श्रेष्ठले चासो व्यक्त गरेका छन् । श्रेष्ठले तस्करी भईरहेको हो भने त्यस्तो अवस्थालाई रोक्नको लागि ब्युरोले पनि भूमिका खेल्न सक्ने श्रेष्ठले बताए । उनले आवश्यक सूचना र जानकारी अनुसार ब्युरोले यस सम्बन्धमा अनुसन्धान गर्ने बताए । 

१० हजार मेरो भागमा भन्दै करोडौं अशुली ! 

तश्वीरमा: AI प्रयोग, दायाँ तर्फ: तस्करीमा प्रयोग भएका रुटहरु) 

केहि समयअघि कृषि कामदारको रुपमा इजरायलमा 'लर्न एण्ड अर्न' तालिम लिएकाहरुलाई इजरायलले कामदारको रुपमा लैजान लागेको भन्दै भाइबर, व्हाट्सएप ग्रुप र म्यासेन्जर ग्रुप खोलेर सयौंको मेडिकल गराइएको थियो । यससँग सम्बन्धित समाचार पढ्नुहोस् । यसै सम्बन्धमा अहिले तिनै गिरोहको सक्रियतामा १५ लाखसम्म अशुली गरि इजरायल पठाईरहेको पाइएको छ । गिरोह संचालन गर्नेका मुख्य नाइकेले युवाहरुसँग 'मैले १० हजार मात्र पाउने हो' भन्दै करोडौं उठाउने क्रममा इजरायल जान चाहनेहरुसँग प्रतिव्यक्ति ४ लाख १० हजार नेपालमै उठाउने गरेको स्रोतले बताएको छ । त्यसरी पैसा बुझाउनेहरु मध्ये केहि युवाहरु इजरायल समेत पुगिसकेका छन् ।

अबैध इजरायल पठाइरहेको गिरोहले 'आफूहरुले सहयोग गरेजस्तो मात्र गरेको हो, युवाहरु आफै गईरहेका हुन् ।' भन्दै आएपनि चर्को अशुली भने रोकिएको छैन । चर्को रकम बुझाएर थप भिजिट भिसाको खर्च, टिकटको खर्च र बिभिन्न देशको बाटो हुँदै जाँदा लाग्ने खर्च छुट्टै लाग्ने गरेको युवाहरुले बताएका छन् । नेपालमा लिईएको ४ लाख १० हजार रकम इजरायल स्थित दलाल र नेपालमा सक्रिय तिनै समुहले भाग लगाएर लिने दावी गरिएको छ । यस गिरोहका सक्रिय रहेकाहरुले पटक-पटक लट छुट्याएर युवाहरुलाई ५ देखि १५ दिनसम्म भारत, थाइल्याण्ड, श्रीलंका, भियतनाम र दुवई लगायत तेश्रो मुलुकमा राखेर इजरायल पठाईरहेका छन् । 

अबैध बाटो हुँदै इजरायल छिर्न लागेकाहरु मध्ये ठूलो संख्यामा युवाहरु पछिल्लो समय बीच बाटोबाटै फर्काईएका छन् । इजरायलले पेपर भिसामा बिदेशीलाई इजरायल छिर्न बन्चित गरेपछि जाने क्रममा बिभिन्न देशबाट अलपत्र परि फर्काइएको बताइएको छ । तर उही समयमा उस्तै भिसामा १५ लाख तिरेर गएका युवाहरु भने इजरायल पुगेको जानकारी प्राप्त भएको छ । नेपाल फर्काइएका युवाहरुलाई बिचमा प्रयोग भएका एजेन्टहरुले पैसामा कुरा नमिलेपछि सहयोग नगरेको कारण नेपाल फर्काइएको हुनसक्ने बुझिएको छ । यसरी फर्काइएकाहरु अहिले नेपालमै एक होटलमा बसेका छन् । तर अहिले पनि बिभिन्न प्रलोभनमा परि आफू पीडित भएको समबन्धमा सम्बन्धित निकाय गुहारेका छैनन् । तस्कर गिरोहले पीडितहरुलाई फेरी इजरायल पठाउने आस्वासन दिएको कारण केहि दिन कुर्ने र पठाउन नसके मात्र सम्बन्धित निकायमा उजुरी दिने सोच बनाइएको पाइएको छ । 

तस्करीको क्रममा नेपाल फिर्ता भएकाहरुले जाँदा गिरोहलाई तिर्नुपर्ने पैसा आफूसँगै जाने साथिलाई बुझाएको बताएका छन् । त्यसरी युवाहरुबाट संकलन गरेको रकम संकलन गर्ने जिम्मा पाएको एक व्यक्तिले गिरोहमा संलग्न व्यक्तिको खातामा हालिदिने गरेको पाइएको छ । अवैध इजरायल पठाउने गिरोहले आर्थिक अशुली गर्दा चलाखी गरेर जानेहरु मध्ये एक जनालाईनै जिम्मा दिने र पैसा उठाईदिने व्यक्तिले भने रकम तिर्न नपर्ने गरि च्यानल मिलाएको बताइएको छ । यसरी जाँदा पीडित युवाहरुले औशतमा १० लाखसम्म खर्च गरेको बताएका छन् । त्यसो त इजरायल पुग्न सफल भएको खण्डमा गईसके पछि पनि मासिक एक हजार सेकेलको दरले तलबबाट काट्ने बताइएको छ । 

पछिल्लो समय सयौं नेपाली युवाहरु मानव तस्करीको बाटोबाट इजरायल प्रवेश गरिरहेको सम्बन्धमा पठाउने गिरोहको बारेमा बिभिन्न स्रोतबाट सूचनाहरु आइरहेका छन् । अवैधानिक बाटोबाट गएकाहरु मध्ये केहिले म्यानपावरहरुको नाम लिईरहेका छन् भने केहिले चिर-परिचित व्यक्तिहरुको सक्रियता रहेको बताएका छन् । 

अवैध बाटोमा इजरायल दुतावासको सहयोग !

नेपालको नीतिले वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृति अनिवार्य गरेको छ । त्यसमा पनि इजरायल-नेपाल जिटुजि मोडलमा कामदार पठाउने सम्बन्धमा स्पष्ट छ । साथै बिभागले पठाइरहेको पनि छ । त्यसो त नेपालको विद्यमान कानुनको बारेमा नेपाल स्थित इजरायल दुतावास जानकार समेत छ । सुरुवातमा नेपाली कामदार चाहिएको विषयमा बिभाग र मन्त्रालय पुगेरै राजदुत हानान गोडरले प्रयास गरेका थिए । तर मन्त्रालय स्रोतले इजरायलले कृषि कामदार चाहिएको सम्बन्धमा कुनै आधिकारिक पत्र नदिएको दावी गरेको छ ।

राजदुत गोडर आफै केहि असम्बन्धित व्यक्तिहरु बोकेर सरकारी निकायमा कामदारको श्रम स्वीकृतिको पहलमा पुगेको पुष्टि भएकोले राजदुत गोडरले समेत अवैध गिरोहलाई सहयोग गरेको हुनसक्ने आशंका छ । अहिले राजदुतसंगै गएकाहरुले अवैध काममा संलग्न भई काम गरिरहेको बिभिन्न स्रोतबाट सूचना प्राप्त भईरहेको छ । 

युवाहरुमा नेपालले इजरायल जना श्रम स्वीकृति दिदैन भन्ने भ्रमको बिकास गरि तिनै युवाहरुलाई चर्को लागत तिर्न बाध्य बनाइएको बुझिएको छ । इजरायल रोजगारमा जान चाहेका केहि व्यक्तिले दुतावासमा सम्पर्क गर्दा दुतावासले आफ्नो लिडरलाई सम्पर्क गर्नु भनि जानकारी दिएको बताएका छन् । त्यसो त इजरायल दूतावास र राजदुतको नाम जोडेर इजरायल पठाउने गिरोहले अबैध धन्दा सुरु गरेको बिषयमा दुतावासको जवाफ माग्न यस मिडियाले पठाएको आधिकारिक पत्रको समेत दुतावासले जवाफ फर्काएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!