साउदी जान तत्काललाई भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र पेस गर्न नपर्ने

Posted on: 13 Jun, 2023

जेठ ३०, काठमाण्डौ । वैदेशिक रोजगारको लागि साउदी अरब जाँदा अनिवार्य गरिएको शैक्षिक योग्यताको नियम तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

साउदी दूतावासले हिजो जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकको भिसाको प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने सूचना जारी गरेको भए पनि तत्काललाई पुरानै प्रक्रियामार्फत भिसा दिने बताएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन् । 

साउदी दूतावासले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको भिसा आवेदन दिँदा शैक्षिक योग्यताको प्रमाणपत्र पनि अनिवार्य रूपमा पेस गर्न म्यानपावर एजेन्सीहरूलाई सूचना पठाएको थियो । 

शैक्षिक योग्यताको प्रमाणपत्र परराष्ट्र मन्त्रालय र साउदी दूतावासमार्फत प्रमाणीकरण गरेमा मात्र साउदीको भिसा प्रक्रिया अघि बढ्ने उल्लेख थियो । 

साउदी दूतावासले सूचना जारी गरेपछि यो नियमका कारण नेपालीहरू रोजगारीबाट वञ्चित हुने भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई भेटेर नै ध्यानाकर्षण गराएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!