रौतहटका युवाको भारतमा गोली प्रहार गरी हत्या, २९ लाख भारु पनि लुटियो

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | रौतहट सदरमुकाम गौरका एक युवाको भारतमा गोली प्रहार गरी हत्या भएको छ।

भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान भारतीय प्रहरीले गरेको छ।

भारतको मुजफ्फरपुरबाट संकलन गरेको २९ लाख भारतीय रुपैयाँ लिएर मिलमा फर्किरहेको बेला सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

हत्यापछि २९ लाख भारतीय रुपैयाँ लिएर लुटेरा समूह फरार भएका प्रहरीले जनाएको छ। घटनास्थलबाट भारतीय प्रहरीले विआर २९ जी ७८५१ नम्बरको बोलेरो जिप बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। 

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गरेका छन्। मृतकको शव मंगलबार साँझ भारतीय प्रहरीले परिवारलाई जिम्मा लगाइएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!