मृत्यु भएका १० नेपालीको शव नेपाल पठाउनेबारे समन्वय भइरहेको छ : नेपाली दूतावास

Posted on: 09 Oct, 2023

असोज २२, एजेन्सी | प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ ।

दूतावासले इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन दर्ता गर्न अनुरोध गरेको छ । दर्ताका लागि दूतावासले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण राख्न भनेको छ ।

साथै, दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि अनुरोध गरेको छ ।  

दूतावासका अनुसार दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको, ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जना सम्पर्कविहीन रहेको जनाएको छ । 

हमासले शनिबार बिहान इजरायलमा ५ हजार रकेट प्रहार गरेको दाबी गरेको थियो। इजरायलका धेरै सहरहरूमा जनधनको ठूलो क्षति भएको छ।

आक्रमणमा ६०० भन्दाबढी इजरायली नागरिकको मृत्यु भएको र ९८५ भन्दा बढी घाइते भएको भने एक सय भन्दा बढी व्यक्ति अपहरणमा परेकोइजरायली अधिकारीहरूले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!