इजरायलको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । 

इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताए । 

उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् । 


नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । 

उनका अनुसार घाइते ३ जना अस्तालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भएका छन् । यस्तै दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् । उनीहरुलाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको रिजालको भनाइ छ । 

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको  लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो ।  हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ । सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!