यस्तो छ साइप्रसमा पाइने रोजगारीको अवसर, भिसाको प्रावधान, नियम, हावापानी र पारिश्रमिक

Posted on: 25 Sep, 2023

एजेन्सी | साइप्रसको पूरा नाम साइप्रस गणतन्त्र हो । नेपाल सरकारले नेपाली महिलालाई घरेलु काममा जान वैधानिकता दिएको दुई देशमध्ये साइप्रस पनि एक हो । भौगोलिक रूपमा यो पश्चिम एसियामा अवस्थित छ । तर सांस्कृतिक र भूराजनीतिक रूपमा दक्षिणपूर्वी युरोपेली देश हो । इजिप्टको उत्तर, ग्रिसको पूर्व, टर्कीको दक्षिण र लेबनान र सिरियाको पश्चिममा अवस्थित छ साइप्रस ।

यसको राजधानी र सबैभन्दा ठुलो सहर निकोसिया हो । साइप्रस युरोपेली सङ्घको भाग हो तर शेन्जेन देशहरूको सूचीमा समावेश छैन  । शेन्जेन सदस्य भएपछि देशहरूबीच स्वतन्त्र रूपमा मानिसको आवतजावतसँगै सामानहरू समेत सिमाना वारपार गर्न सक्ने सुविधा हुन्छ । यस्तो सम्झौता युरोपका २७ देशबीच भएको छ । तर साइप्रससँग छैन ।


राजधानी : निकोसिया

जनसङ्ख्या : १२ लाख ४४ हजार १८८

भाषा : ग्रीक

मुद्रा : यूरो (१ यूरो बराबर १४५ नेपाली रुपैयाँ हुन्छ )।

समय भिन्नता : नेपालको समय भन्दा २  घण्टा  ४५ मिनेट ढिला ।

 साइप्रस दक्षिणी र उत्तरी गरी दुई भागमा विभाजित छ । दक्षिणी साइप्रसमा ग्रीक-भाषीहरूको शासन छ भने उत्तरी क्षेत्र टर्कीद्वारा मात्र मान्यता प्राप्त स्व-घोषित टर्किस् रिपब्लिक अफ नर्दन साइप्रस (TRNC) द्वारा शासित छ । यी दुई टापुबीच दशकौँदेखि पुनः एकीकरणको वार्ता जारी रहे पनि परिणाम आउन सकेको छैन । शान्ति सुनिश्चित गर्न राष्ट्रसङ्घले देशका दुई भागबीच मध्यवर्ती क्षेत्र (Green Zone) स्थापना गरेको छ ।

धर्म : साइप्रसको संविधानमा धार्मिक स्वतन्त्रता लेखिएको छ । यहाँ धर्मको आधारमा विभेद छैन । क्याथोलिक, यहूदी, आर्मेनियाली र मारोनिट्स टापुमा शान्तिपूर्वक बस्छन् । यद्यपि, साइप्रियटहरू खास गरी ग्रीक अर्थोडक्स चर्चका सदस्यहरू हुन् । मुस्लिम धर्म मान्नेहरूको सङ्ख्या पनि धेरै रहेको छ ।

हावापानी : यो न्यानो र घमाइलो हावापानी भएको टापु हो । यहाँ गर्मी र जाडो दुवै खालको मौसम हुन्छ । तर अत्यधिक जाडो भने हुँदैन । जाडोमा १२ डिग्री सेल्सियस र गर्मीमा ३३ डिग्री सेल्सियसको औसत तापमान हुन्छ ।

भिसाको प्रावधान : यहाँ बस्न र काम गर्न जानु पूर्व कार्य अनुमति (work permit) आवश्यक पर्दछ । साइप्रस वर्क परमिट प्राप्त गर्नको लागि तपाईँसँग पहिले साइप्रसको रोजगारदाता कम्पनीसँग कामको सम्झौता हुनुपर्छ । तर वर्क परमिटको लागि तपाईँको रोजगारदाताले तपाईँ आफ्नै देशमा हुँदै खेरी त्यहाँ आवेदन दिनुपर्छ ।

त्यस पछि साइप्रस कार्य भिसा (work visa) को लागि आवेदन दिनु पर्छ । यो भिसाले दीर्घकालीन निवास र रोजगारीको उद्देश्यका साथ साइप्रसमा प्रवेश गर्न अनुमति दिन्छ । साइप्रस पुग्छु अनि काम गर्ने भिसा लगाउँछु भनेर पाइँदैन ।

साइप्रस पुगेको सात दिन भित्र प्रहरी विभागको एलियन्स र अध्यागमन एकाईको स्थानीय जिल्ला कार्यालय वा निकोसियाको सिभिल रजिस्ट्री र माइग्रेसन विभागको केन्द्रीय कार्यालयहरूमा दर्ता गर्नुपर्छ र आफ्नो साइप्रसमा बस्ने अनुमति (Cyprus Residence Permit) लिनुपर्छ । तपाईँले भिसाको आवेदन दिँदा साइप्रस अधिकारीहरूले तपाईँको बायोमेट्रिक र हस्ताक्षर लिनेछन् ।

यहाँ काम गर्ने र बस्ने अनुमति सामान्यता अधिकतम ४ वर्षको लागि हुन्छ । तर कृषि तथा पशुपालन क्षेत्रहरूको लागि भने अवधि ६ वर्ष तोकिएको छ ।

रोजगारीको अवसर : युरोपका देशमा सबैभन्दा द्रुत गतिमा वृद्धि भइरहेको अर्थतन्त्र मध्ये एक हो । यहाँ बस्दा र काम गर्दा धेरै फाइदाहरू छन् । यहाँ अन्तर्राष्ट्रिय कार्य वातावरण र युरोपेली सङ्घ मध्येमा सबैभन्दा कम करको दर छ । राजधानी सहरको रूपमा निकोसिया साइप्समा बस्नको लागि उत्तम ठाउँ हो । यो वित्तीय केन्द्र पनि हो । त्यसैले यहाँ रोजगारीसँगै व्यापारको अवसरहरू पनि पाइन्छ ।

रोजगारीको क्षेत्र : यहाँ निर्माणको क्षेत्र, कृषि, होटल, रेस्टुरेन्टका साथै शिशु नर्सहरू र हेरचाहको काम गर्ने कर्मचारीहरूका साथै प्रशासनिक क्षेत्रमा कामको अवसर बढी छ ।

पारिश्रमिक : साइप्रसमा राष्ट्रिय न्यूनतम पारिश्रमिक १ जनवरी २०२३ देखि लागू हुने गरी ९४० युरो (करिब १,३४,००० नेपाली रुपैयाँ) तोकिएको छ । तर घरेलु कामदारहरूलाई भने राष्ट्रिय न्यूनतम पारिश्रमिकमा समावेश गरिएको छैन ।

ट्राफिक नियम : यहाँ सबै सवारीसाधनहरू सडकको बायाँ तर्फ चल्छन् । गाडी चलाउनको लागि कानुनी उमेर १८ वर्ष हो । रगतमा ०.०५% वा माथिको अल्कोहलको स्तर भए सवारी साधन हाँक्न निषेध छ । आपतकालीन अवस्थामा ११२ डायल गरेर सहयोग लिन सकिन्छ । पैदल यात्रीले सधैँ सडक पेटी (footpath) को प्रयोग गर्नु पर्छ । सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न पेलिकन क्रसिङ, जेब्राक्रस, सबवे, फुटब्रिज, टापु र ट्राफिक बत्तीहरू जस्ता तोकिएका ठाउँहरू प्रयोग गर्नुपर्छ । बाटो काट्न सुरु गर्नुअघि सवारी साधनहरू पूर्णरुपमा रोकिएको सुनिश्चित गर्नुपर्छ । बाटो काट्दा सधैँ स्टडहरूबीच वा जेब्राको चिन्हहरू माथि हिँड्नुपर्छ ।

सजग रहनुहोस् तपाईँ साइप्रस यात्रा गर्दा निम्न चीजहरू लैजान सक्नुहुन्न : मासु वा मासु भएको कुनै पनि बस्तुहरू दूध वा डेरी उत्पादनहरू ताजा फल तरकारी बिरुवाहरू

 साइप्रस संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ । यसका लागि विभागको वेबसाइट www.dofe.gov.np मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

 साइप्रसमा नेपालको आधिकारिक नेपाली नियोग छैन । इजरायलमा रहेको नेपाली दूतावासले साइप्रस सम्बन्धी द्विपक्षीय मामिला हेर्ने गर्छ । तर निकोसियामा नेपालको आवासीय नियोगको अनुपस्थितिमा भिसा जारी गर्ने लगायतका अन्य व्यावसायिक विषयमा साइप्रसका लागि नेपालका अवैतनिक महावाणिज्यदूतका रूपमा सरकारले नेपाल सरकारको प्रतिनिधिको रूपमा ताक्ने गरेको छ ।

सम्पर्क : अवैतनिक महावाणिज्यदूत साइप्रस

साभ्रो एभिन्यु  -71, स्ट्रोभोलोस -2035 निकोसिया, साइप्रस

अफिस B001

फोन: +357-22-255511

मोबाइल: +357-99-666401

त्यस्तै नेपालमा साइप्रसको आधिकारिक नियोग छैन । नयाँ दिल्लीस्थित साइप्रियट हाइकमिसनले नेपाल (भिसा) सम्बन्धी सबै कामकाज हेर्ने गर्छ । साइप्रसले नेपालमा मानार्थ महावाणिज्यदूत नियुक्त गरेको छ ।

उत्तरी साइप्रसको बारेमा ( उत्तरी साइप्रसको टर्की गणतन्त्र )

साइप्रस भित्रै यो टर्कीले मात्र मान्यता दिएको स्वतन्त्र देश हो । टर्की बाहेक कुनै पनि देशले आधिकारिक रूपमा उत्तरी साइप्रसलाई सार्वभौम राज्यको रूपमा मान्यता दिएको छैन । संयुक्त राष्ट्रसङ्घले यसलाई टर्कीको कब्जामा रहेको साइप्रस गणतन्त्रको क्षेत्रको रूपमा मान्यता दिएको छ । उत्तरी साइप्रसको नियन्त्रणमा रहेको क्षेत्रमा अवस्थित एयरपोर्ट र बन्दरगाहहरू मार्फत साइप्रस गणतन्त्र(दक्षिणी साइप्रस)मा प्रवेश गर्न निषेध गरिएको छ ।

यसो गरेमा साइप्रस गणतन्त्रको राष्ट्रिय कानुनको उल्लङ्घन गरिएको हुनेछ र प्रतिबन्धमा पर्न सकिन्छ । यहाँ रोजगारीका लागि जाने बाटोहरु लार्नाका र पाफोसका एयरपोर्टहरू र लार्नाका, लिमासोल, लात्सी र पाफोसका बन्दरगाहहरू हुन् । जुन साइप्रस गणतन्त्र सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा पर्दछन् ।

दक्षिणी साइप्रसमा नेपालीहरु गएका छन् या छैनन् भन्ने आधिकारिक तथ्य फेला परेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!