एनआरएनए सचिव पदका प्रत्यासी मनोज 'गोर्खाली'द्वारा आफ्नो प्रतिवद्धता सार्वजनिक

Posted on: 24 Sep, 2023

असोज ७, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि सचिव पदमा उम्मेदवारी दिन मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले औपचारिक प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

उम्मेदवारी दिने घोषणा गरेका 'गोर्खाली'ले एनआरएनएको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवार दिने घोषणा गर्न पाउँदा आफू हर्षित भएको बताउँदै विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनएको आगामी कार्याकालको लागि आफ्नो योगदानको लागि प्रतिबद्धता जाहेर गरेका छन् । 

'गोर्खाली'को प्रतिबद्धतामा छ 'एनआरएनएको ईतिहासमा लामो समय व्यतित गर्दै आज म सचिव जस्तो गरिमामय पदमा उम्मेद्वारी दिन आईपुगेको छु । तपाई सम्मानित पार्षद् र अग्रजहरूको हरेक चरणमा विश्वास जितेर आजको अवस्थामा आईपुगेको हुँ भन्ने मलाई विश्वास छ । मैले आफ्नो जीवनको ऊर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईन । दशकौं बर्ष खाडी मुलुकमा बिताएको छु र, आज पनि श्रमजीवि नेपालीहरुको साथ र सेवामा निरन्तर यस अभियानमा जोडिएको छु ।' 

उम्मेदवारी घोषणा गरेका 'गोर्खाली' ले एनआरएनका पन्जिकृत सदस्य तथा पार्षदहरुको विश्वास जितेरै २०११ – २०१३ मा एनसीसी यूएईको उपाध्यक्ष, २०१७ – २०१९ मा आईसीसी सदस्य, २०१९ – २०२१ सम्म मध्यपूर्व सहसंयोजकमा आफ्नो सक्रिय भूमिका निभाईसकेका छन् । साथै उनिसँग २०२१ देखि २०२३ मा मध्यपूर्व संयोजक पदमा निर्वाचित भएर सेवा गरेको अनुभव छ । 


गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका,

मनोज कुमार श्रेष्ठ 'गोर्खाली' को घोषणापत्र जस्ताको तस्तै: 

आदरणीय संस्थापक अध्यक्ष, पूर्व एवं निवर्तमान अध्यक्ष साथै वर्तमान अध्यक्षज्यूहरु,

आइ एसका पदाधिकारीज्यूहरु, ओ बीका साथीहरु,

आइसीसी सल्लाहकार तथा आइसीसी सदस्यज्यूहरु,

एनसीसीका अध्यक्ष एवं पदाधिकारीज्यूहरु,

पञ्जीकृत सदस्य, पार्षद सदस्य तथा अभियान्ताज्यूहरू,

पत्रकार मित्रहरु । 

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) को आगामी अक्टोवर १७ देखि शुरु हुन लागेको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवार दिने घोषणा गर्न पाउँदा म असाध्यै हर्षित छु । विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनएको यो भूमिका दिलाउन यहाँहरुले पुर्‍याउनु भएको योगदान प्रति आभार ब्यक्त गर्दछु ।

एनआरएनएको ईतिहासमा लामो समय व्यतित गर्दै आज म सचिव जस्तो गरिमामय पदमा उम्मेद्वारी दिन आईपुगेको छु । तपाई सम्मानित पार्षद् र अग्रजहरूको हरेक चरणमा विश्वास जितेर आजको अवस्थामा आईपुगेको हुँ भन्ने मलाई विश्वास छ । मैले आफ्नो जीवनको ऊर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईन । दशकौं बर्ष खाडी मुलुकमा बिताएको छु र, आज पनि श्रमजीवि नेपालीहरुको साथ र सेवामा निरन्तर यस अभियानमा जोडिएको छु ।

वैदेशिक रोजगार केही समय यता ठूलो विषय बनेको छ । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षाको मुद्दा केही हदसम्म समाधान उन्मुख छ । यद्दपि यसलाई अझै सेवामुखी र पारदर्र्शी बनाउन जरुरी देखिएको छ । एनआरएनका पन्जिकृत सदस्य तथा पार्षदहरुको विश्वास जितेरै २०११ – २०१३ मा एनसीसी यूएईको उपाध्यक्ष, २०१७ – २०१९ मा आईसीसी सदस्य, २०१९ – २०२१ सम्म मध्यपूर्व सहसंयोजकमा काम गर्ने मौका मिल्यो । यसपछि २०२१ – २०२३ मा मध्यपूर्व संयोजक पदमा निर्वाचित भएर सेवा गर्ने मौका पाएँ । यसले विश्वभर छरिएर रहेका नेपालीका विषयहरू थप नजिकबाट बुझ्ने अवसर मिल्यो ।

मध्यपूर्व संयोजक पदमा रहेर आफ्नोे भूमिका निर्वाह गरिराख्दा मलाई मध्यपूर्व र मलेसियाको मात्रै सवाल होइन, वैदेशिक रोजगारीका लागि पूर्वी यूरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलिया र क्यानाडा लगायतका मुलुकहरूमा जाने नेपालीका सवालहरू पनि बुझ्ने अवसर मिल्योे । यी क्षेत्रका आवाजलाई दरिलो रूपमा उठाउन विश्वभर रहेका नेपालीको साथ आवश्यक पर्छ । यूरोप, अफ्रिका, एसिया, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीलाई एकसाथ जोड्न सकेमा मात्रै विश्वभर रहेका लाखौं नेपालीको मुद्दामा नेपाल सरकारलाई थप जिम्मेवार बनाउन सकिनेछ । यूरोप, अमेरिका र अन्य देशहरुमा बस्ने नेपालीहरुको दोहोरो नागरिकताको आवश्यकता र महत्वलाई नजिकबाट बुझ्ने मौका मिल्यो । एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनामा राष्ट्रभक्ति भावको सम्बन्धलाई महशुस गर्न सके र, बिदेशमा छरिएर रहेका आम नेपालीहरुको साझा मुद्दालाई साथ दिन मैले फेरि यही अभियानमा निरन्तरता दिन सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेको छु ।

मैले सचिव पदमा उम्मेद्वारी दिदै गर्दा चार वटा प्रमुख एजेण्डाहरुलाई अघि सारेको छु । बर्षौ बिदेशमा बिताएका नेपाली दाजुभाइहरु (रिटर्नी माइग्रेन्टस)को पुनस्र्थापना, नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्सको बृद्धि एवं भरखरै लागु भएको सामाजिक सुरक्षाको कार्यन्वयन र संस्था भित्रको आर्थिक पारदर्शिता एवं यसमा महिला र युवाहरुको सहभागिता, तथा नागरिकताको निरन्तरता ।

१) रिटर्नी श्रमिकहरुको पुनस्थापना

गैरआवासीय नेपाली संघले वैधानिक र सुरक्षित बैदेशिक रोजगारीको लागि निरन्तर आवाज उठाउदै आईरहेको छ । संघकै पहलकदमीमा बैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियानको थालनी भईसकेको छ । यसले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षालाई सम्बोधन गर्ने विश्वास लिएका छौं । यद्दपि यसमा थप सुधार र स्पष्टताको आवश्यकता जरुरी देखिन्छ । अबको अभियान यतिमा मात्र सिमित रहँदा श्रमिकहरुमाथि न्याय पूरा हुँदैन । अवको अभियानमा बर्षौ बिदेशमा जीवन बिताएर फर्किएका श्रमिकहरुको सामाजिक र आर्थिक पुनस्र्थापना झन महत्वपूर्ण हुनेछ । यो मुद्दालाई गैरआवासीय नेपाली संघको मुद्दाको रुपमा स्थापित गर्न र टुङ्गोमा पुर्याउनको लागि मैले सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको हुँँ । यसका लागि आवश्यक कार्ययोजना बनाएको छु ।

२) बिप्रेषण (रेमिट्यान्स) को बृद्धि एवं सामाजिक सुरक्षाको कार्यन्वयन

देशको ग्राहस्थ उत्पादनको एक चौथाइ भाग बैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सले धानेको छ । यद्दपि अहिले पनि ठुलो मात्रामा अबैधानिक श्रोतबाट हुने कारोबारले रेमिट्यान्सलाई मात्रात्मक रुपमा असर पुगेको मात्र छैन देशको सुरक्षालाई चुनौती दिदै अर्थतन्त्रलाई नै क्षति पुगेको छ । बैधानिक तवरले रेमिट्यान्स पठाउन उत्प्रेरित गर्नको लागि श्रमिकहरुलाई प्रोत्साहन गर्ने आवश्यक कार्ययोजना सहित सरकारी स्तरमै पहल गरिनेछ ।

गैरआवासीय नेपाली संघको पहलकदमीमा नेपाल सरकारले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षाको लागि सामाजिक सुरक्षा कोषको घोषणा गरेको छ । यसले बिदेशमा रहेका नेपालीहरु अङ्गभङ्ग भएको अवस्थामा, मृत्यु भएमा उसको परिवारको सुरक्षाको प्रत्याभुति गरेको छ । अझै पनि यसको पूर्ण कार्यन्वयन गर्नु गराउनु हामी सबैको कर्तब्य हो । यो कोष अहिले नै पूर्ण नहोला तर समय अनुसार यसको परिमार्जन र सुधार हुँदै जानेछ ।  बैदेशिक रोजगारीमा गएका सबै नेपालीहरुलाई यसमा जोड्नु नै आजको आवश्यकता हो । यसको लागि बिशेष योजना बनाएर बैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई जोडिनेछ जसले रेमिट्यान्सको बृद्दिमा गुणात्मक फड्को मार्नेछ ।

३) सांगठनिक आर्थिक पारदर्शिता एवं संगठनमा महिला तथा युवाको सहभागिता

गैरआवासीय नेपाली संघको संगठन दह्रो बन्दै गईरहेको अवस्था छ । हजारौं गैरआवासीय नेपालीहरु यस संस्था प्रति आकर्षित बन्दै गईरहेका छन । युवाहरुलाई खेलकुदको माध्यमबाट संस्थामा जोड्ने ठोस योजना बनाइनेछ । संस्थालाई थप पारदर्शी बनाउनु आजको आवश्यकता पनि हो । यसर्थ यस २०२३ – २०२५ कार्यकालमा संघको आर्थिक पारदर्शिता मेरो प्रमुख एजेण्डा रहने छ साथै संघमा महिला तथा युवाहरुको बढ्दै गएको आकर्षणलाई स्थायी र दिगो बनाउँदै संस्थामा पुष्तान्तरण खोजिनु पर्दछ ।

४) नागरिकताको निरन्तरतामा मेरो प्रतिबद्धता

अन्ततः एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको छ ।  गैरआवासीय नेपाली नागरिकता दिने प्रावधान सहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भइसकेकोे छ । यो उपलब्धिका लागि संसारभरि रहनु भएका एनआरएनए मित्रहरुलाई म हार्दिक बधाई दिन चाहन्छु । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको हकका लागि हाम्रो प्रयास जारी रहने गरी नेपाल सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने छु ।

यही कारण अब मैले एनआरएनएको अर्को महत्वपूर्ण सचिव पदमा गएर सेवा गर्ने अठोट गरे । विश्वभरका नेपालीले देशका लागि सकेको योगदान दिनुपर्छ भन्नेमा दुईमत छैन । धेरैले सोध्छन, एनआरएनएको मुख्य काम के हो ? एनआरएनएको मुख्य काम विदेशमा रहेका नेपाली बीच एकता बढाउनु हो । आपसी सहयोग र सद्भावको विकास गर्नु हो । संसारभर छरिएका नेपाली बीच स्वस्थ र मर्यादित हिसाबले समन्वय गराउनु हो । यो कार्यबाट म विचलित हुने छैन ।

अतः यसपटक पनि यहाँहरुले विगतको जस्तै आशा, भरोसा र विश्वास गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । मैले व्यक्तिगत स्वार्थ नभई सामूहिक हितका लागि काम गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

 मनोज कुमार श्रेष्ठ (गोर्खाली)

सचिव पदको उम्मेदवार

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

धन्यवाद । 

साथ, सहयोग र सुझावको अपेक्षा सहित, 


यस बिषयमा तपाइको प्रतिक्रिया...!