पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक

Posted on: 30 Jul, 2023

साउन १४, काठमाडौँ | कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न सक्छन् । तर, कोरियन रोजगारदाताको प्राथमिकतामा भने एकपटक कोरिया गएर फर्केका नेपाली कामदार पर्न छाडेका छन् । यद्यपि, रोजगारदाताले चाहेको खण्डमा पुराना श्रमिकलाई पुनः सोही काममा लैजान पाउने व्यवस्था छ । तर, यसका लागि श्रमिकले फेरि भाषा परीक्षा भने उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

पहिला काम गरेको क्षेत्रमा नै काम गर्न चाहने श्रमिकले सिबिटी परीक्षा पास गरेपछि पुनः रोस्टरमा सूचीकृत हुन्छन् । पहिलेकै रोजगारदाताले छनोट गरेको खण्डमा श्रमिक सोही कामका लागि जान पाउने व्यवस्था भएको वैदेशिक रोजगार विभागको इपिएस शाखाका निवर्तमान प्रमुख पुष्पराज कटुवालले बताए । तर, पहिलाको भन्दा फरक क्षेत्रमा काम गर्न जान चाहेको खण्डमा श्रमिकले नयाँ श्रमिकसरह भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । 

यो वर्ष थोरै संख्यामा मात्रै पुराना श्रमिकलाई कोरियाका रोजगारदाताले छनोट गरेको उनले बताए । नयाँ श्रमिकलाई लैजाँदा दुई कार्यकाल काममा लगाउने पाइने, तर पुरानो श्रमिकलाई एक कार्यकाल मात्रै राख्न पाउने भएकाले पनि कोरियन रोजगारदाताले नयाँ छानेको हुन सक्ने उनको अनुमान छ । ‘सायद उमेरले पनि हुन सक्छ । पुराना श्रमिक स्वाभाविक रूपमै बढी उमेरका हुन्छन्, नयाँ कामदार अलि कम उमेरका हुने भएकाले पनि रोजगारदाताको रोजाइमा नयाँ परेको हुन सक्छ,’ उनले भने । श्रमिक छनोटको सम्पूर्ण अधिकार रोजगारदातामा नै निहित हुने उनले बताए । गत आर्थिक वर्ष ०७९/८० मा २२ हजार नौ सय २२ श्रमिक कोरिया पुगे । जसमध्ये १६ हजार ६ सय ८१ नयाँ श्रमिक थिए भने ६ हजार दुई सय ४१ पुराना श्रमिक कोरिया गए । 

इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्केका श्रमिक पनि पुनः कोरिया जान पाउनुपर्ने भन्दै केही दिनदेखि आन्दोलनमा उत्रिएका थिए । तर, नेपालका लागि इपिएस सेन्टरका प्रतिनिधि, वैदेशिक रोजगार विभागको इपिएस शाखा र आन्दोलित श्रमिकबीच भएको छलफलपछि सरकारले रिटर्नी श्रमिकलाई पनि छनोट गर्न कूटनीतिक पहल गर्ने सहमति भएपछि श्रमिकले पनि आन्दोलन रोक्न तयार भएका हुन् । 

करिब तीन हजार पुराना श्रमिक रोस्टरमा 

इपिएस प्रणालीमार्फत कोरिया जान चाहने नेपाली श्रमिकका लागि भाषा परीक्षा अनिवार्य सर्त हो । भाषा परीक्षा उत्तीर्ण गरेको नेपाली युवाको नाम रोस्टरमा राखिन्छ । कोरियन रोजगारदाताले रोस्टरमा राखेको नामबाट आफूलाई मन पर्ने श्रमिक छनोट गर्छ । छनोट गरेको श्रमिकसँग उसले श्रम सम्झौता गर्छ । सम्झौतापछि भिसा पठाउँछ । श्रमिकले पनि श्रम स्वीकृति लिएर कोरिया जान सक्छन् । कोरिया जाने श्रमिकको एक कार्यकालको अवधिमा चार वर्ष १० महिना हुन्छ । 

कोरिया जाने श्रमिकको रोस्टरमा हाल नौ हजार नेपाली युवा सूचीकृत छन् । जसमध्ये ६ हजार उत्पादनमा क्षेत्रका छन् भने तीन हजार कृषि क्षेत्रका छन् । सूचीकृतमध्ये तीन हजार पुराना श्रमिक छन् । पुराना श्रमिमध्ये २५ सय उत्पादन क्षेत्रका छन् भने पाँच सय कृषिमा क्षेत्रमा भएको इपिएस प्रमुख कटुवालले बताए । - नयाँ पत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!