साउदीको अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा एक नेपाली मृत्यु

Posted on: 29 Jun, 2023

असार १४, काठमाडौं | साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । अन्य एकजनाको पनि मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ।

समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । आक्रमणकारी र सुरक्षा बलहरू बीचको गोली हानाहानमा व्यक्तिको मृत्यु भएको र अमेरिकी वाणिज्य दूतावासमा कार्यरत एक नेपाली सुरक्षा गार्डको पनि मृत्यु भएको अलजजिरामा उल्लेख छ ।

मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगानाको पहिचान भइनसकेको समाचारमा उल्लेख छ ।

यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको बताएका छन्  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!