हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै बारामा चक्काजाम

Posted on: 03 Jun, 2022

जेठ २०, बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभक्त पौडेलको हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले शुक्रबार चक्काजाम गरेका छन् ।

हत्याको २२ दिन बितिसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडी मुख्य सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय गाउँलेहरू स्वतःस्फूर्त सडकमा उत्रिएका हुन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्सा घटनाको २२ दिनपछि आज बिहान भेटिएको छ । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिरको अगाडी सडकको छेउमा मृतकको पर्स भेटिएको हो ।

पर्स देखेपछि स्थानीय कृष्णप्रसाद रिमालले खोलेर हेर्दा मृतक राकेशभक्त पौडेलको फोटो देखेपछि स्थानीय गाउँले र प्रहरीलाई खबर गरिएको उनले बताए । शिव मन्दिरको अगाडि रहेको रिमालको पसल अगाडी उक्त पर्स शुक्रबार बिहान फेला परेको हो । पसल अगाडीको घाँस हँसियाले काटेर सफा गर्ने क्रममा सो पर्स फेला पारेको रिमालले बताए ।

प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको छ । पर्समा कागज पत्र भेटिएको थियो । गएको वैशाख २९ गते मध्ये रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो ।

पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका जेठा दाजु केदारभक्त पौडेलले बताए । हत्या गरिएको दिन स्थानीय चुनाव भएकाले चुनावी आचारसंहिता लागू गरिएको थियो । चुनावको अघिल्लो रात २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेर कै क्रममा पौडेलको हत्या भएको मृतकका जेठा दाजु पौडेलले बताए ।

चित्रबहादुरले माओवादीको तर्फबाट वडा ६ को सदस्य पदको लागि उम्मेदवारी दिएका थिए । तर, उनी चुनावमा पराजित भए । उनलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थाले पछि तिनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । त्यस पछि अन्य सात जनालाई पक्राउ गरेको हो ।

यता, आफन्तहरूले मृतक राकेशको पर्स पनि हराइरहेको भनेर प्रहरीमा निवेदन दिएका थिए । हत्या भएको २२औं दिनमा निकै नै चहलपहल रहने उक्त ठाउँमा अचानक राकेशको हराइरहेको पर्स सुरक्षित अवस्थामा फेला पर्नु सुनियोजित भएको मृतकका कान्छा दाजु राजेशभक्त पौडेलले बताए ।

त्यस्तै, मृतककी जेठी भाउजू प्रतिमा पौडेलले भने शिव मन्दिर परिसरमा रहेको चौतारामा दर्जनौं मान्छेहरू दिउँसो भरी बसिरहने गरेका छन् । शिव मन्दिर अगाडी रहेको कृष्णप्रसाद रिमालको पसलमा क्यारेमबोर्ड खेल्ने युवाहरूको पनि निकै नै भीड लागि रहने भए पनि हत्याको २१औं दिनसम्म मृतक राकेशको पर्स फेला नपरेको र हत्या भएको २२औं दिनमा सुनियोजित तवरले उक्त पर्स राखिएको अवस्थामा फेलाको उनले बताइन् ।

उता जीतपुरसिमरा उपमहानगरपालिका-६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल, वडा नम्बर ६ कै युवकहरू संदिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!