हावाबाट यसरी आउँदैछ नयाँ रोग, सिधै मस्तिष्कमा आक्रमण

Posted on: 06 Sep, 2016

भदौ २१ , काठमाडौँ । हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ । 

आइरन अक्साइडसहितका विषालु कण मानिसको मस्तिष्कमा भेटिएको हो । यस्ता कणले अल्जाइमरसहितका रोगको खतरा बढाउने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । बेलायतको ल्यानकेस्टर विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानको क्रममा वायु प्रदुषणका कारण धुलोको कणबाट ससाना कण मानिसको मस्तिष्कसम्म पुगेको देखिएको हो । 

यसअघि भएका धेरै अनुसन्धान वायु प्रदुषणका कारण मानिसको फोक्सो तथा मुटुमा पर्ने प्रभावमा केन्द्रित थिए । तर यो अनुसन्धानले चुम्बकीय गुण भएका ससाना कण मानिसको मस्तिष्कसम्म पुग्ने प्रमाण फेला पारेको हो । यस्ता चुम्बकीय कण वायु प्रदुषणका कारण बन्ने गरेको हुन् ।

३७ जनाको मस्तिष्कको तन्तुको अनुसन्धानमा चुम्बकीय गुण भएका कण फेला परेको प्रमुख अनुसन्धानकर्ता ल्यानकेस्टर विश्वविद्यालयका प्राध्यापक बारबारा माहरले बताउनुभयो । अनुसन्धान गरिएका मध्ये २९ जना मेक्सिको सिटीका तीन देखि ८५ वर्षका व्यक्तिको मस्तिष्कको तन्तु हो । 

यस्तै बाँकी ८ जना म्यानचेस्टरका ६२ देखि ९२ वर्षसम्मका व्यक्तिको मष्टिस्कको तन्तु हो । मस्तिष्कमा भेटिएका कणको आकार एउटै रहेको वैज्ञानिकले बताएका छन् । यस्ता कणले मानिसको मस्तिष्कको काममा अवरोध गर्ने गरेका छन् । वायु प्रदुषणका कारण हरेक वर्ष विश्वमा तीस लाख जनाको ज्यान जाने गरेको विश्व स्वाथ्य संगठन डब्लुएचओले जनाएको छ । स्रोत: एजेन्सी 




यस बिषयमा तपाइको प्रतिक्रिया...!