यसरी मनाउनुस् तिज: तिजमा सुन्दर देखिन कसरी मेकअप गर्ने ?

Posted on: 24 Aug, 2017


तिज आउनु निकै अघिदेखि नै धेरै स्थानमा तिजको रन्को बढ्ने गर्छ । समयको बदलिँदो परिवेशसँगै महिलाहरू जम्मा भई विभिन्न कार्यक्रमको आयोजना गरी दर खाने, नाचगान गर्ने गर्दछन् । 

महिलाहरू हरितालिका तिजको अघिल्लो दिन नाचगान गर्ने र मध्यरातमा दर खाने गर्दछन् । तिजको दिन दिनभर धेरैजसो महिलाले पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीघार्युको कामना र अविवाहित युवतीले राम्रो वरको कामना गर्दै तिजको दिन पूजाआजा गरी व्रत बस्ने परम्परा छ ।

विपुला श्रेष्ठ, मनोविमर्शकर्ता: होलिस्टिक माइन्ड्स

तिजको दिन माइत जानु, छरछिमेक जम्मा भई नाचगान गर्नु राम्रो कुरा हो । तर, स्वास्थ्यको ख्याल नगरी पानी पनि नपिई व्रत बस्नु भने अनावश्यक छ । रक्तचाप, मुटुरोग, मधुमेह, ग्यास्ट्रिकजस्ता रोग भएकाहरूले बिर्सेर पनि खाली पेट व्रत बस्नु हुँदैन ।

गर्भवती महिलाले पनि व्रत बस्नु हुँदैन । स्वस्थ महिलाकै कुरा गर्दा पनि पानी नखाई घन्टौँ लाम लागेर मन्दिरमा उभिँदा बेहोस पनि हुन सक्छ । गर्मीमा शरीरमा पानीको मात्रा पर्याप्त नहुँदा जलवियोजन हुन सक्छ । यस्तो अवस्थामा महिला बेहोस हुन सक्ने सम्भावना बढी हुन्छ ।

आध्यात्मिक रूपमा पनि तनावपूर्ण रूपमा गरेको साधना, पूजाआजा, व्रतको फल नहुने कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । कुनै पनि शुभकार्य हृदयदेखि नै सकारात्मक भएर गर्दाको महत्व भने बेग्लै हुन्छ । त्यसैले धर्म पाउन, मनोकामना पाउन भनेर करबलले गर्नु राम्रो होइन । न त आध्यात्मिक रूपमा राम्रो हुन्छ, न त स्वास्थका दृष्टिबाट नै ।

प्राकृतिक उपचारमा पनि उपवास गराइन्छ । जुन शरीरका अंगहरूलाई विश्राम दिनका लागि गरिन्छ । उपवासको पनि सही व्यवस्थापन नगरी गर्दा फाइदाभन्दा बढी हानि हुन पुग्छ । तर, तिजमा भने स्वास्थ्यका लागि भन्दा पनि मनोकामना प्राप्त गर्नका लागि पानी पनि नपिई व्रत बसेको पाइन्छ । जुन स्वास्थ्यका दृष्टिबाट त्यति फाइदाजनक देखिँदैन ।

वर्षभर बेफुर्सद भई सबै आ–आफ्ना काममा लागिरहँदा तिजको अवसर पारी रमाइलो गर्ने मौका जुर्नु राम्रो कुरा हो । तिजमा परिवारका सदस्य, छिमेकीहरू जम्मा भएर खुलेर नाच्दा मनभरि गुम्सेका संवेग, भावना, उकुसमुकुस विर्सजन हुन्छ । 

अन्ततः यसो गर्दा मानसिक, भावनात्मक रूपमा स्वस्थ हुन्छ । विशेष गरेर असार–साउनको रोपाइँ सिध्याएर तिजको मौका पारी छोरीचेली माइत गई मिठो–मिठो खाई आराम गर्नुले पनि शारीरिक रूपमा स्वस्थ बनाउन सघाउ पुर्याउँछ । मिठो–मिठो खाने निहुँमा बढी गुलियो मिठाई, अत्यधिक गरिष्ठ भोजन पनि खानु हुँदैन ।

हिजोआज महिलाहरू तिजलाई देखासिकी, तडकभडकका रूपमा सिको गर्न थालेका छन् । यसले गर्दा सबैखाले महिलालाई त्यति सहज हुन सकेको छैन, तिज । समय परिवर्तनको क्रमसँगै हामीले तिजलाई पनि फरक तरिकाबाट मनाउनेबारे सोच्नु आवश्यक छ । 

पहिला–पहिला बढीमा २–३ दिनसम्म मनाइने तिज हिजोआज एक–दुई महिनाअघिदेखि नै सुरु हुने गरेको छ । तिजलाई देखासिकी, तडकभडक अनि शरीरलाई सास्ती दिनुभन्दा परिवारबीच भेटघाट, आत्मीयता बाँड्ने, तनाव विर्सजन गर्ने दिनको रूपमा मनाउनु राम्रो हुन्छ ।

तिजमा मेकअप कसरी गर्ने ?
कमला श्रेष्ठ: ब्युटिसियन

हिन्दू महिलाको महान् चाड तिज आज धुमधामका साथ मनाइँदै छ । एक वर्षपछि भेट भएका दिदीबहिनीहरू एक–आपसमा मनको वह पोख्दै छन् । यो वेला उनीहरूबीच सौन्दर्य प्रतिस्पर्धा पनि हुन्छ । 

कपडा, मेकअपजस्ता कुरामा आफूलाई अरूभन्दा फरक बनाउन उनीहरू मिहिनेत पनि गर्छन् । पहिरन जतिसुकै राम्रो भए पनि मेकअप राम्रो भएन भने नराम्रो देखिन सक्छ । त्यसैले आफूले लगाउने पहिरन र स्वास्थ्यलाई ध्यानमा राखेर मेकअप गर्नुपर्ने हुन्छ ।

-तिजमा महिलाहरू व्रत बस्ने भएकाले सकेसम्म हेभी लुगा नलगाउँदा राम्रो हुन्छ । लुगा सम्हाल्न सक्ने गरी मात्र लगाउनुपर्छ । सकेसम्म ब्राइट कपडा लगाएको राम्रो देखिन्छ ।

-सारी हेभी लगाएको छ भने हल्का गहना र कानमा टप लगाएको राम्रो देखिन्छ । लाइट मेकअप गर्नुपर्छ । पहिरन लाइट छ भने मेकअप हेभी गर्न सकिन्छ

-तिजमा कुर्ता र लेहेंगा लगाउने चलन पनि बढेको छ । त्यसैले कुर्ता र लेहेंगा लगाउँदा हल्का लगाउने । कुर्तामा मेकअप धेरै गरेको राम्रो देखिँदैन । कुर्तामा सिम्पल मेकअप राम्रो देखिन्छ ।

-हातमा धेरै चुरा लगाएको राम्रो देखिन्छ । उज्यालो कलरको ड्रेससँग म्याच हुने चुरा हातभरि लगाउँदा राम्रो हुन्छ । सुनभन्दा पनि बजारमा पाइने गहना लगाउँदा सुरक्षाका हिसाबले पनि राम्रो हुन्छ ।

मेकअपमा ध्यान दिऔँ 

गर्मी मौसम भएकाले सबै मेकअप सामान वाटरफ्रुफ प्रयोग गर्नुपर्छ । व्रत बस्दा शारीरिक रूपमा पनि कमजोर महसुस हुन्छ । मन्दिरमा पूजा गर्न पनि दिनभर लाइन बस्नुपर्ने भएका कारण मेकअप वाटरप्रुफ गर्दा राम्रो देखिन्छ ।

नेलपोलिस पनि लगाउनुपर्छ । अहिले त विभिन्न किसिमका नेल आर्ट पनि गरिन्छ । यसले पनि राम्रो नै देखिन्छ । सकेसम्म उज्यालो रङको नेलपोलिस लगाउँदा राम्रो हुन्छ । टीका पनि लगाउन छुटाउनु हुँदैन ।

स्यान्डल लगाउँदा फ्ल्याट हिल लगाउनुपर्छ । नाचगान गरिन्छ, लाइनमा बसिन्छ । शरीर थाकेको हुन्छ । त्यसैले पेन्सिल हिलभन्दा फ्ल्याट हिल राम्रो हुन्छ । औँठी सादा लगाउनु राम्रो । नाचगानमा पनि सहभागी हुने भएकाले कपडामा अल्झेर समस्या हुने गर्छ ।

आफ्नो स्वास्थ्यका लागि पनि पानी खानुपर्छ । पानी नखाँदा शरीरमा इन्फेक्सन हुने, एलर्जी हुने हुन्छ । साथै, पानी नखाँदा अनुहारको ग्लो पनि जान्छ । त्यसैले व्रत बस्दा पानी र फलफूल खाएर बस्नुपर्छ ।-नयाँ पत्रिका

यस बिषयमा तपाइको प्रतिक्रिया...!