पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

Posted on: 12 Jun, 2023

एजेन्सी | जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । लामो समयसम्म भोकै बस्नु, शारीरिक गतिविधिको कमी र लगातार बढ्दो कामको दबाब र तनावले पाचन प्रणालीमा धेरै नराम्रो असर गर्छ ।

यस्तो अवस्थामा एसिडिटी, पेट दुख्ने र पाचन प्रणालीसँग सम्बन्धित अन्य समस्या पनि बढ्छ । खानाको मात्रा, खानाको प्रकार र खानाको समय यो तीन कुरामा ध्यान नदिँदा यो समस्या निम्तने गर्छ ।

सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा पेटको पर्खाल सुन्निने कोतरिने र अल्सर हुने सम्भावना हुन्छ । र, पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ ।

त्यसबाहेक, अत्यधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धूम्रपान आदिको सेवनले पनि एसिडिटी बढ्ने गर्छ ।

एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने । कब्जियत, दिसा पोल्ने, मलद्वारको समस्या जस्तै पाइल्स, फिस्टुला जस्ता रोग लाग्न सक्छ । कहिलेकाहीँ उल्टी हुनसक्छ । अत्यधिक मात्रामा एसिडिटी भएमा अपच, कब्जियत तथा पखाला हुन्छ ।

किन भरिन्छ पेटमा ग्यास ?

पेटमा ग्यास भरिने समस्या आम समस्या हो । पाचनसम्बन्धी गडबडी भएमा पेटमा ग्यास भरिने गर्छ । पेटमा ग्यास भरिनु कुनै विशेष रोगको लक्षण पनि हुनसक्छ । गलत खानपान तथा अनिद्राका कारण पनि पेटमा ग्यास भरिने गर्छ । तनाव, भय, चिन्ता, अत्यधिक मात्रामा चिया, कफीको सेवन, धूम्रपान, लामो समय खाली पेट रहनु, मसला वा चिल्लो भोजनको सेवनले पनि पेटमा ग्यास भरिने गर्छ । पेटमा ग्यास भरिएमा भोक नलाग्न सक्छ । बरु पेटमा हावा भरिन थाल्छ । दिसा राम्ररी हुँदैन । कब्जियत हुनसक्छ । डकार धेरै आउँछ ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।

एसिडिटी तथा ग्यासबाट छुटकारा पाउने घरेलु उपाय

खानाको मात्रा, खानाको प्रकार र खानाको समय यो तीन कुरामा ध्यान दिइएको भने एसिडिटी तथा ग्यासको समस्या हुँदैन । खाना खाने एउटा रुटिन बनाउनुपर्छ । हामीले खाना खाने समय सधैँ एउटै भयो भने हाम्रो हर्मोनले आफैँ त्यो समयमा पाचन शक्ति बढाउँछ । त्यसैले, खानपानमा समयको एकदमै ख्याल राख्नुपर्ने हुन्छ । समयमा नसुत्ने तथा धेरै तनाव लिने व्यक्तिहरूमा पनि एसिडिटी तथा ग्यासको समस्या हुन्छ । त्यसैले, समयमा सुत्ने तथा समयमा उठ्ने शारीरिक रूपमा सक्रिय हुनुपर्छ ।

कफी, चिया, जङ्क फुड, बासी तथा चिसो खानाले यो समस्या बढाउँछ, त्यसैले यस्ता खानेकुराको कम सेवन गर्नुपर्छ ।

खानाको मात्रामा पनि विशेष ध्यान दिनुपर्छ पेटलाई तीन भागमा बाँड्दा एकतिहाइ भागलाई खाली छोड्नुपर्छ । दुईतिहाइ मात्र खानुपर्छ । एकदमै कोचेर खाना खानु हुँदैन । भोक लागेपछि मात्र खानुपर्छ । भोक लागेको छैन भने जबरजस्ती खाना खानु हुँदैन । भोक लाग्नेबित्तिकै केही न केही खाई हाल्नुपर्छ ।

लक्षण अनुसार औषधिको सेवन गर्नुपर्छ । पेट फुल्ने तथा ग्यासको समस्या छ भने हिङ, ज्वानो पुदिना र वीरेनुन आदिको सेवन उपयोगी हुन्छ । एक चम्चा ज्वानो एक गिलास पानीमा बाबरी वा पुदिनाको पात पनि हालेर उमाल्ने र त्यसमा थोरै बिरे नुनु हालेर सेवन गर्दा ग्यासको लागि एकदमै लाभदायी हुन्छ । साथै बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर पनि खान सकिन्छ।

पेट पोल्ने तथा एसिडिटीको समस्याको लागि भने जेठीमधु, गुर्जो, अमला आदिको सेवन उपयोगी हुन्छ । जेठीमधु गुर्जो आदिलाई पानीमा पकाएर खान सकिन्छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!