स्मार्टफोनको ब्याट्री स्वस्थ राख्न ८० प्रतिशतसम्म मात्र चार्ज गर्नु राम्रो हो ?

Posted on: 26 Sep, 2024

असोज १०,  काठमाडौँ । दीर्घकालसम्म स्मार्टफोन प्रयोग गर्न ब्याट्री स्वस्थ रहनु महत्त्वपूर्ण मानिन्छ । धेरैले लामो समयसम्म फाेन टिकाउन ८० प्रतिशतसम्म मात्र ब्याट्री चार्ज गर्न सुझाव दिन्छन् । यसले चार्जिङ साइकलको संख्या घटाउन मद्दत गर्ने दाबी गरिन्छ ।

तर हालैको एक सर्वेक्षणले भने प्रयोगकर्ताहरू यस्तो दाबीमा बाँडिने देखिएको छ । अर्थात् सबै प्रयोगकर्ता ब्याट्री स्वस्थ राख्न ८० प्रतिशतसम्म मात्र चार्ज गर्दैनन् । सञ्चार संस्था एन्ड्रोइड अथोरिटीको सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । 


उक्त सर्वेक्षणमा १० हजार बढी पाठकहरूले सहभागिता जनाएको एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ । जसमध्ये ५३.३८ प्रतिशतले आफ्नो फोनलाई ८० प्रतिशतसम्म चार्ज गर्ने बताउँदा ४६.६२ प्रतिशतले आफूहरूले यो नियम पालना नगर्ने र फोनलाई फुल चार्ज गर्ने बताएका थिए ।

८० प्रतिशतसम्म मात्र चार्ज गर्नुलाई सामान्यत: स्मार्टफोनको ब्याट्रीलाई चाँडै बिग्रन नदिने व्यवहारिक उपायको रूपमा लिइन्छ । यस बानीले स्मार्टफोन खरिद गरेको छोटो समयमा नै ब्याट्री फेर्नुपर्ने बाध्यता केही हदसम्म समाधान हुने दाबी गरिन्छ ।

विशेषगरी नयाँ स्मार्टफोन खरिद गरिरहने, डिभाइसको खासै ख्याल नगर्ने व्यक्तिहरूले यस्तो उपाय अवलम्बन नगर्ने पाइएको छ । त्यसको ठीक विपरीत लामो अन्तरालमा फोन खरिद गर्ने, आफ्नो डिभाइसलाई अलि ख्याल गर्नेहरूले ८० प्रतिशत चार्जिङ नियम अवलम्बन गर्ने पाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!