नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा आइतबारसम्म सवारी साधन सञ्चालनमा रोक

Posted on: 28 Sep, 2024

असोज १२, चितवन । स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा सो सडक खण्डमा  पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । सूचनामा भनिएको छ, “सवारी धनी एवं यात्रु महानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।” 

शुक्रबार काठमाडौँतर्फ जान हिँडेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको भन्दै सिञ्जालीद्वारा जारी सूचनामा यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।

अत्यावश्यक कामबाहेक नदी तटीय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो । विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!